
१३ चैत २०८२, शुक्रबार
सुर्खेतः जातिय हिसाबले निकै पछि परेको बादी समुदायबाट वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेत नयाँ गाउँकी सीता वादी गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट सांसद मात्र होइन, मन्त्रीसमेत बन्न सफल हुनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाको समानुपातिक सूचीबाट सांसद बन्नुभएकी उहाँले बालेन्द्र शाह नेतृत्वको संघीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा आज नियुक्त भई पदभार ग्रहण गर्नुभएको छ । इतिहासमा पहिलो पटक वादी समुदायबाट महिला सांसदका साथै मन्त्री बन्नु भएकी सीता उमेरका हिसाबले ३० वर्षको हुनुहुन्छ । उहाँ विसं.२०५२ भदौं २३ गते सुर्खेतमा जन्मनुभएको थियो ।
सुर्खेतको झुप्रा खोलामा बालुवा चालेर आफ्नो आमा बाबासँग दैनिकी गुजार्दै आउनुभएकी सीता कलिलो उमेरमा वादी समुदायबाट पहिलो मन्त्री बनेपछि उहाँको चर्चा चुलिएको छ । सीता स्वयं एकैपटक मन्त्री बन्न पुगेपछि आश्चर्य चकित हुनुहुन्छ । उहाँले पदभार ग्रहण गर्दै भन्नुभयो, “यो स्थानमा पुगिएला भन्ने कल्पनासमेत गरेकी थिइन । किनकी मेरो बिगत र पृष्ठभूमि निकै असहज थियो । परिवार सम्झेर आजको यो पलले मलाई भावुक बनाएको छ ।”
महिला हिंसा, अपांगता भएका व्यक्तिका समस्यालाई नीतिगत तहबाट कानून निर्माण गरी कार्यान्वयन गर्ने र उनीहरुमा परिवर्तनमा आभास गराउने सोच राखेर अगाडि बढ्ने संकल्प गरेको उहाँले बताउनुभयो । मूलतः कमजोर आर्थिक अवस्था, शिक्षाबाट बञ्चित, भूमिहीन बादी समुदायका समस्यासहित समाजमा महिला, बालबालिका र ज्येष्ठ नागरिकको हक एवं अधिकारका सवालमा बिगत भन्दा माथि उठेर काम गर्ने मन्त्री बादीको भनाई छ ।
झुप्रा खोला, भेरी नदी किनारमा बालुवा उत्खनन् गरेर जीविकोपार्जन गर्दै आउनुभएका उहाँले भेरीगंगा नगरपालिकाको सत्तरी भन्ने स्थानबाट प्राथमिक तहको शिक्षा लिनुभएको थियो । १३ वर्षको उमेरमा पढ्नकै लागि एक संस्थाको सहयोग घर छोडेर काठमाडौं जानुभयो । भित्रैदेखि पढ्ने इच्छा भए पनि घरायसी अवस्था उहाँका लागि चुनौति बन्ने गथ्र्यो । यद्यपि उहाँले राजनीतिक शास्त्रमा स्नाकोत्तर उपाधि हाँसिल गर्नुभएको छ ।
चालीसको दशकमा पहिलो पटक आफ्नो समुदायबाट सीता मन्त्री बनेपछि वादी समुदाय हर्षित छ । अधिकारकर्मी हिक्मत वादीले संकट व्यहोर्दै बेला बेलामा गरेको आन्दोलन र निरन्तरको संघर्षपछि वादी समुदायको प्रतिनिधित्व गर्दै सीता संघीय सरकारको मन्त्रिपरिषद् सदस्य बन्नु इतिहासकै गर्वलायक क्षण भएको बताउनुभयो । “सदियौंदेखि थिचोमिचोमा परेको भूमिहीन समुदायले अब न्याय पाउने आशा गरेको छु । अब हामी प्रति हेर्ने नजर फेरिने र अवस्था बदलिनेछ, उहाँले भन्नुभयो ।”
जीवनयापनका लागि खोला, नदी किनार धाउनुपर्ने, कमजोर आर्थिक अवस्थामा शिक्षाबाट बञ्चित, कमजोर स्वास्थ्य अवस्था बदल्न र विभेद, असमानता, गरिबी, बेरोजगारीविरुद्ध स्पष्ट नीति निर्माण गरी कानून बनाएर कार्यान्वयन गर्नतर्फ विशेष भूमिका निर्वाह गर्ने मन्त्री वादीले बताउनुभयो ।
त्यस्तै मुलुकमा देखिएको व्याप्त भ्रष्टाचार अन्त्य गर्ने, दलितहरुलाई आत्मसम्मानका साथ बाँच्न सक्ने सहज अवस्था निर्माण गर्ने, सेवा प्रवाह सहजता ल्याउने, महिला सशक्तिकरण, दलित अधिकार, बाल संरक्षण, सुशासन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर सरकारी तहबाट विशेष जिम्मेवारी पुरा गर्ने र नागरिकहरुको जीवन बदल्ने यात्राको रुपमा राजनीतिकलाई माध्यम बनाउने उहाँले बताउनुभएको छ ।
कर्णालीका राजनीतिक विश्लेषक तथा नागरिक समाजका अगुवा पिताम्बर ढकालले पिछडिएको भूगोल कर्णाली र त्यसमा पनि समुदायबाट मन्त्री बनेकी सीता बादीको ऐतिहासिक सफलता संघीय लोकतान्त्रिक गणतन्त्रको उत्तम अभ्यास भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो व्यवस्थाको सुन्दर पक्ष भनेकै सीता जस्ता पछाडि परेका समुदाय, भेक, क्षेत्र, जाति, लिंग र धर्मका नागरिकहरुको समानुपातिक र समावेशी प्रतिनिधित्व हो । यसले लोकतन्त्रलाई अँझ बढी बलियो बनाएर लैजान्छ ।”


