आषाढ १०, २०८२

१३ पटक

१० असार २०८२, मंगलबार
सुर्खेत कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि रु.चार अर्ब ३८ करोड २७ लाख १५ हजारको बजेट विनियोजन गरेको छ ।
नगरपालिकाको १७औं नगरसभामा आज उपप्रमुख नीलकण्ठ खनाले उक्त बजेट सार्वजनिक गर्नुभएको हो । विनियोजित बजेटमा पूँजीगततर्फ रु.दुई अर्ब ७८ करोड ८४ लाख ८५ हजार (६३ दशमलव ६३ प्रतिशत) र चालुतर्फ रु.एक अर्ब ५९ करोड ४२ लाख ३० हजार (३६ दशमलव ३७ प्रतिशत) रहेको छ । उपप्रमुख खनालका अनुसार आगामी वर्षको बजेटमा कर्मचारीको तलबभत्ता तथा कार्यालय सञ्चालनका लागि ३२ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत संघीय वित्तीय समानीकरण अनुदानबाट प्राप्त रु.२४ करोड २४ लाख, नगरपालिकाले संघीय सरकारबाट प्राप्त रु.अर्ब २० करोड आठ लाख, ससर्त अनुदान, संघीय राजस्व बाँडफाँटबाट प्राप्त रु.२० करोड ५७ लाख ९३ हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट प्राप्त रु.तीन करोड ३४ लाख ५३ हजार रहेको जनाइएको छ ।
त्यसैगरी, खानेपानी, सुशासन तथा पूर्वाधार प्रवद्र्धन कार्यक्रम (म्याचिङ फन्ड भेरी पम्पिङ आयोजना) सञ्चालन, व्यवस्थापन एवं सहकार्यका निम्ति रु.११ करोड ६० लाख, वडास्तरीय योजना तथा कार्यक्रमका लागि रु.१९ करोड २८ लाख र नगरस्तरीय क्षेत्रगत कार्यक्रमहरु सञ्चालनका लागि रु.एक अर्ब २५ करोड ९२ लाख ७९ हजार विनियोजन भएको उपप्रमुख खनालले बताउनुभयो ।
प्रदेश सशर्त अनुदानबाट प्राप्त हुने रु.३७ करोड ६१ लाख ३६ हजार, घर, जग्गा, रजिस्ट्रेशन तथा मनोरञ्जन करबाट प्राप्त रु.१५ करोड, दहत्तर बहत्तर शुल्कबाट प्राप्त रु.दुई करोड ५० लाख र आन्तरिक आयबाट रु.५१ करोड ६३ लाख ५० हजार आगामी वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि स्रोत व्यवस्थापन हुने अनुमान नगरपालिकाले गरेको छ ।
नगरपालिकाले चालु आव.२०८१÷०८२ का क्रमागत आयोजना तथा सर्न सक्ने बैंक मौज्दात रु.४१ करोड २७ लाख ८३ हजार तथा सामाजिक सुरक्षा अनुदानबाट प्राप्त रु.४० करोडलाई आगामी वर्षको खर्च धान्ने स्रोतका रुपमा राखेको छ । नगपालिकाले आगामी आव.मा उपमहानगरपालिकाका लागि पहल गर्ने बताएको छ ।
आगामी वर्षको बजेट कार्यान्वयन गर्न बिगतको अथक प्रयासबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नगर क्षेत्रमा अति आवश्यक पूर्वाधार निर्माण, सामाजिक न्याय, खेलकुद तथा क्षमता विकास, आधारभूत शिक्षा एवं स्वास्थ्य सेवामा पहुँच बढ्ने र शहरी सौन्दर्यमा टेवा पुगी नगरपालिकाको दिगो एवं सन्तुलित विकासमा सहयोग पुग्ने विश्वास लगिएको नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो ।