

६ असार २०८२, शुक्रबार
सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको अवस्था बदल्ने अभिभारा युवाको काँधमा रहेको बताउनुभएको छ ।
राष्ट्रिय युवा परिषद् नेपाल कर्णाली प्रदेशद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित “युवा उद्यमशीलता प्रवद्र्धन सम्मेलन २०८२” लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले युवामै समृद्ध कर्णालीको सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सामाजिक, आर्थिक र संरचनागत अवस्था परिवर्तन गर्ने दायित्व अबका युवाको काँधमा छ । यसका लागि युवामा सोच र सपना दुवै हुनुपर्दछ ।”
मुख्यमन्त्री कँडेलले आजका युवाहरु ज्ञान, सोच र सीप भरिपूर्ण रहेको उल्लेख गर्दै उनीहरुमा आत्मविश्वास र नेतृत्वदायी भूमिका जगाउन सके अहिलेको समय हिजोको भन्दा सजिलो र अनुकूल भएको धारणा व्यक्त गर्नुभयो । प्राकृतिक हिसाबले भरिपूर्ण कर्णालीमा युवा श्रम, सीप र सोचको सहि सदुपयोग हुन सके उनीहरुको भविष्य उज्यालो हुने उहाँको भनाई थियो ।
श्रमप्रति सम्मान गर्ने संस्कार निर्माण गर्नुपर्ने कुरामा जोड दिनुभएका मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले उद्यमशील युवा, कृषक तथा पर्यटन व्यवसायीका लागि सहुलियत कार्यक्रम ल्याउने नीति लिई कृषि, पर्यटन र लघुउद्योगलाई प्राथामिकतामा राखेर अगाडि बढ्ने जनाउनुभयो । उहाँले विदेशबाट फर्किएका युवाको सीप र अनुभवलाई उत्पादनसँग जोड्न सरकार तयार रहेकोले युवाहरुलाई गाउँको विकासमा हिसाब राख्ने, विचार र व्यवहारबाट नेतृत्व देखाउने, निराशा नभई आशा बाँड्ने भूमिकामा सक्रिय हुन आग्रह गर्नुभयो ।