OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ६, २०७७सुर्खेत
५०२ पटक

सुर्खेत, ६ जेठ २०७७ : विश्वव्यापी महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट अब कर्णाली प्रदेश पनि अछुतो रहेन । सातवटा प्रदेशमा हालसम्म सुरक्षित मानिएको कर्णाली प्रदेशमा लकडाउनको ५६औं दिनपछि भने पहिलो पटक एक जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश राजधानी सुर्खेतसँग जोडिएको जिल्ला दैलेख आठबिस नगरपालिकाका १ साततलाका एक पुरुष युवामा सोमबार कोरोना भाइरस पुष्टि भएपछि कर्णालीमा यो संक्रमण प्रवेश गरेको छ । भारतको आग्राबाट यही बैशाख ३१ गते आफ्नै गाउँ दैलेख साततला पुगेका युवाको सोमबार सुर्खेतको कोरोना परीक्षण प्रयोगशालाबाट पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

सुर्खेतले उनको पुनः पुष्टिको लागि नमूना नेपालगञ्ज भेरी अस्पतालमा पठाएको थियो । त्यहाँ गरिएको पिसिआर परीक्षणको रिपोर्ट पनि पोजेटिभ देखिएपछि सोमबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैलेखका ती युवामा कोरोना पुष्टि भएको सार्वजनिक गरेसँगै कर्णालीवासीमा यो रोगले त्राससँगै उच्च सतर्कता बढाएको छ ।

भारतको आग्राबाट हिडेका उनीसँगको ३९ जनाको टोली ४१ दिन भारतको वनवासा क्वारेन्टाइनमा बसेर आएको र यही बैशाख ३१ गते नगरपालिकाको पहलमा उनीहरुलाई उद्धार गरेर ल्याईएको आठबीस नगरपालिका दैलेखका नगरप्रमुख खड्गराज उपाध्यायले जानकारी दिनुभयो । नगरप्रमुख उपाध्यायले भन्नुभयो, “युवामा कोरोना संक्रमण पुष्टि भएपछि हामीले एक वडाबाट अर्को वडामा जान सिल गरेका छौं । र प्रदेश सरकारलाई सघन परीक्षणका लागि अनुरोध गरिएको छ ।”

आठबीस नगरपालिकामा अहिलेसम्म ५२ जना आईपुगेको जनाउँदै उहाँले आठबीसकै नागरिक भारतमा दुई हजार बढीको संख्यामा रहेको लगत राखिएको बताउनुभयो । कोरोना पुष्टिपश्चात् उच्च सतर्कता अपनाईएको बताउँदै नगरप्रमुख उपाध्यायले भन्नुभयो, “हामीले नगरपालिभरि १९३ बेड संख्यामा क्वारेन्टाइन बनाएका छौं । बिरामीसहित क्वारेन्टाइनमा रहेका सबैलाई उच्च मनोबल राख्न र केही परे सरकार छ भनेर हौसला दिएका छौं ।” उहाँका अनुसार संक्रमति युवाको अवस्था सामान्य छ ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले दैलेखको आठबीसका युवामा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका चिकित्सक टोलीलाई निर्देशन दिईसकिएको जानकारी दिनुभयो । भारतबाट कर्णाली प्रवेश गर्ने नागरिकहरुका लागि अनिवार्यरुपमा आरडिटी र स्क्रिनिङ गर्न सुर्खेतको छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना भईसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब हामीले क्वारेन्टाइनमा बस्ने अवधि २१ दिन पुर्याउने सोच राखेका छौं । बिरामीहरुको उपचार सेवालाई प्रभावकारी बनाउँदैछौं । मुख्य नाकाबाट कर्णाली प्रवेश नगरी लुकिछिपी आउनेहरुका कोरोना संक्रमणको जोखिम बढेको भन्दै उहाँले यसमा सुरक्षा अवस्था कडाई बनाईने जनाउनुभयो ।

नागरिकहरुको अनुशासन र उच्च सतर्कता अनिवार्य रहेको मन्त्री रावलको भनाई थियो । अहिलेसम्म सामान्यत ः किटले धानिरहेको जनाउँदै प्रदेश सरकारले यसको लागि टेण्डर गरिसकेको, केही संघीय सरकारसँग माग गरेको र केही विदेशबाट आएको उहाँले बताउनुभयो ।

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका स्वास्थ्य सेवा निर्देशक रिता भण्डारी (जोशीले) सोमबारसम्म तीन हजार ३३६ जनाको पिसिआर परीक्षण भएको जानकारी दिनुभयो । हिजो आठबीसका ३९ जनाको पिसिआर परीक्षणमा एक जना युवाको कोरोना पोजेटिभ देखिएको भन्दै निर्देशक भण्डारीले ती युवालाई आइसोलसन राख्ने तयारी भईरहेको बताउनुभयो ।

“नमूना संकलन भएका ३०० जनाको आज मात्र पिसिआर परीक्षण गर्दैछौं,” उहाँले भन्नुभयो, “कालीकोट, हुम्ला, रुकुम, डोल्पा, मुगुलगयातका जिल्लाबाट पनि स्वाब संकलन कार्य भईरहेको छ ।” दैलेख आठबीसका समुदायको सघन जाँच आवश्यक नभएको भन्दै निर्देशक भण्डारीले कोरोना संक्रमित ती युवासँग एउटै बसमा आएकाहरुको कन्ट्याक्ट टे«सिङ गर्ने तयारी भईरहेको बताउनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारको योजना अनुरुप प्रत्येक वडाबाट नमूना स्वाब संकलन कार्य निरन्तर छ । कर्णालीमा कोरोना भाइरसको संक्रमित देखिएसँगै प्रदेश सरकारसहित स्थानीय सरकारहरुमा उच्च सतर्कता बढेको छ ।

प्रतिकृया दिनुहोस्