OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ६, २०८०सुर्खेत
५९ पटक

६ चैत २०८०, मंगलबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर १४ सुर्खेतस्थित गढीमा रु.एक्काईस करोड लगानीमा स्टे होटल भ्यालीभ्यू प्रा.लि.सञ्चालनमा आएको छ ।

गुणस्तरीय सेवा सुविधा दिनुका साथै कर्णालीको समग्र पर्यटन प्रवद्र्धन गरी आर्थिक वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले नयाँ वर्ष २०८१ लाई विशेष अवसर बनाएर होटल सञ्चालनमा ल्याइएको आज यहाँ आयोजित पत्रकार भेटघाटमार्फत सञ्चालक तथा होटल व्यवसायी महासंघ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले जानकारी दिनुभयो । सञ्चालक शाहीले करिब एक बिगाह जमीनमा रु.एक्काइस करोड लगानी गरी भौतिकरुपले सुविधा सम्पन्न होटल निर्माण गरिएको बताउनुभयो ।

“कोरोना महामारीले व्यवसाय निकै संकटपूर्ण अवस्थामा पुगेको थियो,” उहाँले भन्नुभयो, “यद्यपि अर्थतन्त्रमा आएको संकटकै बीचमा हार नखाएर होटेल निर्माण कार्यलाई अगाडि बढाएर आजको अवस्थामा आएका छौं ।” वीरेन्द्रनगर नगरपालिका ६ मूल बजारस्थित होटल भ्यालीभ्यूको शाखाका रुपमा विस्तार गरिएको स्टे होटलले कर्णालीका प्रमुख पर्यटकीय क्षेत्रको प्रचारप्रसार र अवलोकन गर्न आउने पाहुनाहरुलाई स्तरीय खान, बस्न र मनोरञ्जन दिनुका साथै प्राकृतिक वातावरणमा आनन्द लिन सघाउने उहाँको भनाई थियो ।

बीस वर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएका सञ्चालक शाहीले चन्दननाथ नगरपालिका ६ जुम्लामा पनि रारा स्टे भ्याली भ्यू रिसोर्ट प्रालि विस्तार गरिएको र आगामी दिनमा कर्णालीका १० वटै जिल्लामा शाखा विस्तार गर्ने गरी तयारी भइरहेको जनाउनुभयो । उहाँले भन्नुभयो, “होटेल आगन्तुक पाहुनाहरुलाई यहाँको स्थानीय प्राङगारिक उत्पादनका परिकार खुवाउन जोड दिएकोले स्थानीय कृषकहरुलाई रैथानेबाली उत्पादनमा प्रोत्साहन दिएको छ ।”

उक्त होटलले एक सय २५ जनालाई रोजगारी दिएको छ भने वीरेन्द्रनगर, गढी र जुम्ला गरेर करिब ३५ करोड लगानी भएको सञ्चालक शाहीले बताउनुभयो । उहाँका अनुसार निकट भविष्यमा कर्णाली तथा मुलुकको प्रमुख पर्यटकीयस्थल मुगुको रारा तालमा होटल विस्तार गर्ने तयारी भएको छ । कर्णालीको पर्यटन क्षेत्रको प्रवद्र्धनका गर्न तीनै तहका सरकारले पूर्वाधार निर्माणमा ध्यान दिनसके मात्र यहाँको अर्थतन्त्रले अपेक्षित लक्ष्य हाँसिल गर्ने उहाँले बताउनुभयो ।

होटलमा ३४ कोठा रहेकामा दुई भीआइपी स्वीट रुम, २० सुपर डिलक्स, ६ डिलक्स र ६ वटा स्ट्याण्डर्ड कोठाहरु रहेको होटलका महाप्रबन्धक पदम सुवेदीले जानकारी दिनुभयो । जुम्ली मार्सी चामलको भात, सिमीको दाल, सिस्नु, फापरको रोटी, चिनो कागुनोका खीर, कोदाको ढिंडो, कालिजको मासु, बट्टाईको झोलसहित यहाँ उत्पादित वस्तुको परिकारहरु उपलब्ध हुने उहाँले बताउनुभयो ।

कर्णाली प्रदेश राजधानी घोषणा गरेयता यहाँको प्रशासनिक आर्थिक, राजनीतिक, शैक्षिक र पर्यटकीय अवस्थामा गति बढ्दै जानु कर्णालीका लागि सुन्दर पक्ष भएको जनाउँनु भएका सञ्चालक शाहीले कर्णालीलाई चिनाउने प्रमुख माध्यम नै पर्यटन, जडिबुटी र प्राङ्गारिक कृषि स्पष्ट देखिएकोले यसको विकासका लागि सबैको समन्वय र सहकार्य आवश्यक रहेको जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्