OnlinePana

आज : २०८१ मंसिर १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ३१, २०७९जुम्ला
३४४ पटक

३१ असोज २०७९, सोमबार

पोहोर सालको क्षतिको पीडा नसकिदै यस वर्ष पनि तिला गाउँपालिका ४ जुम्लावासीलाई विपद्ले अँझ बढी पीडा थपेको छ । विसं.२०७८ असोज ३०, ३१ र कार्तिक १ गतेसम्मको अविरल वर्षापछि आएको बाढीले यहाँका घरतली, तडा, नारा, गाडापारी, बुँगारा, सिमज्यूला लगाइएको सयौं मुरी अन्नबाली क्षति ग¥यो ।

उक्त बाढीले धानबालीमा मात्र क्षति गरेन, वर्षौदेखि उपभोग गर्दै आएका खेतीयोग्य जमीन बगरमा परिणत भए । यस वर्ष पनि तिलावासीमाथि विपद्ले वितण्डा मच्चायो । यही असोज १९–२४ गतेसम्मको अविरल वर्षाले तिला गाउँपालिका ४ साँपुल्ली गाउँवासीको घरबारी हेर्दा हेर्दै बगर बन्यो । अविरल वर्षाका कारण असोज २३ गते आएको भीषण बाढीबाट यहाँका बासिन्दाहरुको ज्यान त जोगियो तर घरबारी बच्न सकेन ।

बाढीले १५ घरमा क्षति पुगेको छ । क्षतिग्रस्तस्थलको अवलोकन भने जिल्ला विपद् व्यवस्थापन समितिले नगरेको पीडितहरुले दुखेसो पोखेका छन् । बाढीले घर भत्काएपछि विस्थापित भएका परि कामीले गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायले सामान्यतः हेरफेर गरेपनि जिल्लाबाट कोही पनि नआएको र राहत पनि उपलब्ध नभएको गुनासो गर्नुभयो ।

“बस्ने बास छैन । खाने गासको पनि त्यस्तै संकट छ,” उहाँले भन्नुभयो, “तरपनि हाम्रा निम्ति सरकार बेखबर जस्तै छ ।” अर्का बाढीपीडित शेरबहादुर शाहीले खोला किनारमा बस्दा ज्यान जोखिम हुँदै गएको बताउँदै अब नयाँ बसाई गर्नुपर्ने अवस्था आएको जनाउनुभयो । यता लालबहादुर सुनारले बाढीले घर चर्केर काम नलाग्ने भएकाे र अहिलेसम्म अर्कैकाे घरमा आश्रित रहेकाे जनाउनुभयाे । त्यस्ती बाढीपीडित दत्तबहादुर शाहीले बाढीको कुरुप दृश्य देखेको दिनबाट छोरी राति पनि तर्सिने र झर्किने गर्न थालेको जनाउनुभयो ।

सोही वडाकै ९९ वर्षीय बाढीपीडित स्थानीय महिला कालु शाहीले जीवनमा यस्तो बाढी पहिलो पटक देखेको र यसले आफ्नो घर र जग्गा जमीनमा क्षति पु¥याएर उठिबास बनाएको बताउनुभयो । “म अब सय वर्ष पुग्दैछु तर पनि जन्मेदेखि यस्तो बाढी कहिल्यै देखेको थिईन,” शाहीले भन्नुभयो, “मर्ने मर्ने बेलामा यस्तो के नराम्रो देख्नु प¥यो भन्ने कुराले मलाई दुखित बनाएको छ ।”

यस वर्षको बाढीले साँपुल्ली गाउँका मात्र करिब दुई सय परिवार प्रभावित भएका छन् । तिला गाउँपालिका १–९ वडाका खेतीयोग्य जमीन, सिंचाई कुलो, विद्यालय भवन, स्वास्थ्य चौकी, विद्युतगृह, कुटानी चिरानी तथा पिसानी मिल, परम्परागत घट्ट, शीत भण्डार, पशुवस्तु, अन्नबालीमा ठूलो क्षति गरेको छ । यसबाट करोडौंको क्षति भएको तिला गाउँपालिकाका अध्यक्ष रोकायले जानकारी दिनुभयो ।

“क्षति एकिन गर्न विषयगत कार्यालयहरुलाई क्षतिग्रस्तस्थलमा पुगेर वास्तविक क्षतिको एकिन तथ्याङ्क ल्याउन निर्देशन दिएका छौं,” उहाँले भन्नुभयो, “त्यहीका आधारमा स्थानीय सरकारले राहतका लागि आवश्यक पहल चाल्छ ।” विपद्ले भौतिक ठूलो क्षति भएपनि मानवीय क्षति नभएको उहाँले बताउनुभयो । अध्यक्ष रोकायका अनुसार विपद्बाट विस्थापितहरुलाई पुनःस्थापनाका लागि पहिलो जोड दिइनेछ ।

पछिल्लो समयमा नदी, खोला, भिरालो जमीन र पहाडको फेदमुनि बसालिएका बस्तीहरु उच्च जोखिममा रहेको पाइन्छ । ती बस्तीहरुको स्थानान्तरण, एकीकृत बस्ती विकासमा जोड र वातावरणीय प्रभाव मूल्याङ्कन विना नै डोजर लगाउने कार्यमा नियमन गर्न सकेमात्र जनधनको क्षति कम हुने प्राविधिक जीतबहादुर सिंहले बताउनुभयो । उहाँका अनुसार यसका लागि स्थानीय सरकारहरुले प्रभावकारी नीति बनाएर अगाडि बढ्नुपर्दछ ।

प्रतिकृया दिनुहोस्