OnlinePana

आज : २०७९ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

शिक्षा र स्वास्थ्य अभियन्ता कार्कीकाे सांसद बन्ने हुटहुटी

शक्तिकाे आशक्ति छिण बनाउने दाउमा कार्की

खेमराज वलीआश्विन ४, २०७९काठमाडौं
६१ पटक

४ असाेज २०७९ मंगलबार 

मान्छेका कथा पुनर्लेखन गर्ने अभियानमा १३ वर्ष खर्चिएका नरबहादुर कार्की एक पटक आफ्नै कथा पुनर्लेखनमा कस्सिएका छन् । उनी जीवनलाई खेल सम्झिन्छन्, सपना देख्नु अधिकार । त्यसैले नयाँ सपना बोकेर उनी अफ्रिकी मुलुक सेयरालियोनबाट जाजरकोट फर्किएका छन् । उनको वर्तमान सपना हो, सांसद बन्ने ।

‘म सपना बोकेर फर्किएँ, सांसद बन्ने’, उनी भन्छन्, ‘सपना मेरो होइन, जाजरकोटी जनताको सपना, जसले मलाई आफ्नो प्रतिनिधि भएको हेर्न चाहेका छन् ।’ भदौ पहिलो साता फर्किएका कार्कीले जाजरकोटबाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

जिल्लालाई रुपान्तरण गर्न र अर्थहीन राष्ट्रिय नीति र कानुन खारेज गरी समयानुकुल र दीर्घकालीन महत्व राख्ने नीति निर्माण गर्न सांसद बन्न चाहेको उनको भनाइ छ ।

अहिले दलहरूले गलत तरिकाले स्वार्थपूर्तिका लागि राजनीतिक खेल खेलिरहेको बताउँदै उनले जिल्ला र राज्यभित्र बढ्दै गएको अराजकता, विभेद, शोषण र अधिनायकवादलाई हेर्न नसकेर आफू पनि खेल मैदानमा प्रवेश गरेको बताए ।

संसद प्रवेश गर्ने यो नै सही समय भएको उनी बताउँछन् । ‘अहिले देश राम्रोभन्दा नराम्रो कामले चिनिन थालेको छ’, उनले भने, ‘हामी खेल हेर्न जन्मिएका होइनौं, हामी पनि खेल्न सक्छौं । नतिजा निकाल्न सक्छौं । त्यसैले मैले पनि खेल सुरु गरें ।’

कार्कीका अनुसार दलहरूलाई झकझक्याउने, राजनीतिलाई शुद्धीकरण गर्ने र कामका लागि राजनीति गर्ने बाटो तय गर्नु छ ।

उनको भाषामा जीवन निर्णयको खेल हो । र, उनले सांसद बनेर काम गर्ने निर्णय गरे । ‘राजनीति डिसिजन मेकिङ हो । अनि एक्सन लिने हो । रुपान्तरणको एउटै रुप काम हो’, उनी अघि भन्छन्, ‘गफले केही गर्दैन । म निर्णय गर्छु र काम गर्छु ।’

न्यायोचित व्यवहारको लडाइँ

जिल्लाको विकासका सन्दर्भमा उनको नजरमा राज्यको नीति र ऐन पनि बाधक छन् । जसले गर्दा जाजरकोट र त्यस्दै पहाडि-हिमाली जिल्लाका नागरिकले सम्मानपूर्वक बाँच्न नपाएको उनको तर्क छ ।

राज्य र सरकारबाट नागरिक हीनताबोध बोकेर बाँच्नु परेको उनको तर्क छ । उनी भन्छन्, ‘ मेरो जिल्लाका मान्छेको औसत आयु ६५ वर्ष वरिपरि हो, सरकारले ६८ वर्ष पुगेपछि भत्ता दिने घोषणा गर्छ । यो न्यायोचित छैन ।’

पहाडी जिल्लामा स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुन बाटो खर्च १०/१५ हजार लाग्छ । तर, सरकारले एक हजार दिने गरेको प्रति उनको प्रश्न छ । उनी यस्ता सरकारी निर्णयले कयौं नागरिकहरू हीनताबोध बोकेर बाँचेको ठान्छन् ।

‘यसैले न्यायोचित बजेट बनाउन म लड्दैछु’, उनले भने, ‘यथार्थमा आधारित र अवस्थाप्रति न्याय गर्ने कानून र बजेट चाहिएको छ । म त्यसकै लागि तथ्यसहित संसदमा लडाइँ गर्नेछु ।’

सरकार र दलका कारण अन्तर्राष्ट्रियस्तरमा बदनामी हुने गरेको, देशमाथि अन्या भएको उनको भनाइ छ । त्यसकारण अब खुट्टाबाट नभई टाउकोबाट सरसफाइ गर्नु पर्ने उनले बताए ।

अहिले दलहरूले नागरिकमाथि भ्रम सिर्जना गरेर अन्याय गरेको उनी बताउँछन् । राष्ट्रको स्वाभिमानमाथि दलहरूले मजाक गरेको उनले बताए । दलहरूले गरेका सम्झौताका कारण राष्ट्रभक्ति बन्न नसकेको उनको आरोप छ ।

जसलाई जिताएउनैलाई हराउने दाउ

कार्कीले उम्मेदवारी घोषणा गरेको जाजरकोटमा प्रतिनिधि सभाको एउटै क्षेत्र । यो क्षेत्रमा उनको प्रतिस्पर्धा ‘हेभिवेट’ उम्मेदवारसँग हुनेछ ।

उनका एकजना प्रतिस्पर्धी हुनेछन्, माओवादीका उपमहासचिव तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत । बस्नेतले कायम गरेको हैसियतका आधारमा उनी कार्कीका लागि ‘हेभिवेट’ नै हुन् । त्यसमा पनि बस्नेत गठबन्धनका उम्मेदवार बन्ने पक्का छ ।

यतिमात्रै होइन। २०७४ को आम निर्वाचनमा कार्की नै बस्नेतलाई जिताउन लागेका व्यक्ति हुन् । त्यसबेला पनि उनी विदेशबाटै फर्केर बस्नेतलाई सहयोग गरे ।

अफगानिस्तानको जागिर छोडेर आएका कार्कीले राष्ट्रिय नीति निर्माणमा हस्तक्षेप गर्न सक्छन् भनेर बस्नेतलाई सहयोग गरेको बताउँछन् ।

बस्नेतलाई सहयोग गर्ने भएपछि उनलाई माओवादीले नै प्रदेश सभाको टिकट दियो । एमाले-माओवादी गठबन्धनका कारण उनको टिकट खोसियो तर पनि उनले बस्नेतलाई सहयोग गरेको बताउँछन् । ‘मैले उहाँलाई सहयोग गरेको हुँ । जित्नु पनि भयो’, कार्कीले भने, ‘अब म उठे उहाँले हार्नुहुन्छ । मलाई हार्ने सुविधा छैन ।’

चुनाव जित्ने आधार :  नयाँ चेतना

कार्कीले चुनाव नजित्ने कुनै कारण नै नभएको बताउँछन् । कुनै एक कारणमात्र नभई धेरै कारणले आफूले चुनाव जित्ने दाबी उनको छ ।

पहिलो आधार उनले नागरिकको नवचेतना मान्छन् । के हो त उनले नागरिकमा देखेको नयाँ चेतना ? कार्की भन्छन्, ‘पार्टीका मान्छेले जिते कार्यकर्ताको मात्रै काम गर्छन्, स्वतन्त्रले जिते सबैको काम गर्छन् भन्ने नयाँ चेतना निर्माण भएको छ । यसैले चुनाव जित्न सजिलो छ ।’

नेताहरू गफ गर्ने र चुनाव जितेपछि नफर्किने हुँदा नागरिक आजित भएको उनको बुझाइ छ । तसर्थ क्षमतावान र काम गर्ने प्रतिनिधिको खोजी सुरु भएकोले आफू विकल्प भएको उनले बताए ।

उनको अर्को तर्क पनि छ । अहिलेको चुनावलाई उनी वैचारिक र दलीय प्रतिस्पर्धा मान्न तयार छैनन् । फरक-फरक विचारबीचको गठबन्धन त्यसको उदाहरण भएको उनको भनाइ छ । यसले गर्दा नागरिक खुसी नभएको उनको दाबी छ ।

‘अब पनि जनता मौन बस्न चाहँदैनन्। हरेक आमाबुवाले मलाई सन्तानको रुपमा देखेका छन् । मौन बस्नेछैनन्,’ उनले थपे ।

दलको कार्यशैलीका कारण अहिले उनीहरूसँग कार्यकर्ता नै नभएको कार्की बताउँछन् । ‘उनीहरूसँग कार्यकर्ता छैनन्,नेताहरूमा भ्रममात्रै छ’, उनले भने, ‘कोही होलान् पैसा नदिए आउँदैनन् । त्यस्ता मान्छे निकै कम छन् ।’

समाजमा धारणा निर्माण गर्ने पेशा व्यवसायका मान्छे आफूप्रति सकारात्मक भएकोले चुनाव जित्न गाह्रो नभएको बताउँछन् ।

आफ्ना प्रतिस्पर्धीलाई पनि उनी ‘हेभिवेट’ मान्न तयार छैनन् । ‘यो संसारमा जन्मिएका सबै सन्तानहरू बराबर हुन्’, आफ्नो प्रशिक्षणकै शैलीमा भन्छन्, ‘यहाँ ठूलो सानो कोही छैन । सबैभित्र नायकत्व छ । त्योमसँग पनि छ ।’

कार्कीले चुनावको मोटामोटी हिसाब गरेका छन् । उनको हिसाबमा जिल्लामा ७० हजार बराबर मत खस्नेछ । त्रिपक्षीय प्रतिस्पर्धा भएको खण्डमा ३० हजार मत ल्याएर विजयी हुने कार्कीले दाबी गरे ।

चुनाव खर्चको भारी नबोक्ने

सबैभन्दा कम खर्चमा चुनाव जितेर उदाहरण बन्ने बताउँछन् कार्की । ‘म सबैभन्दा कम खर्चमा जित्छु ‘, उनी भन्छन्, ‘ म मितव्ययी बन्छु । यसले एउटा परम्परा तोडिनेछ ।’

पैसा खर्च नगरी कसरी चुनाव जितिन्छ भन्ने प्रश्नप्रति उनको आपत्ति छ । खर्च नगरी चुनाव जितिदैन भन्ने सोचाइ नै गलत भएको उनले बताए ।

आम किसानको छोराले पनि क्षमताका आधारमा पैसा खर्च नगरी चुनाव जित्ने वातावरण बनाउनु राज्य र मतदाताको जिम्मेवारी भएको उनको बुझाइ छ । ‘म भन्दा पछि आम किसानको छोराले म पनि आफ्नो गुणले चुनाव जितेर प्रतिनिधि बन्छु भन्ने सपना देखोस्,’ उनले थपे ।

कार्कीले आफ्नो उम्मेदवारी राजनीतिक स्वार्थ नभइ एउटा अर्को अभियान भएको बताउँछन् । कुनै राजनीति नभई आफूले अभियान सुरु गरेको उनको दाबी छ ।

‘यसलाई मैले अभियानका रुपमा लिएको छु’, उनले भने, ‘मेरा लागि यो चुनाव होइन । हिजो पनि मैले गाउँमा अभियान चलाएँ । यो पनि अभियान हो ।’

उनले आफ्नो अभियानका लागि दलको जस्तै कार्यकर्ता पनि नहिंडाउने बताए । ‘मलाई दललाई जस्तै कार्यकर्ता चाहिंदैन । म ५ जना मान्छे मात्रैपरिचालन गरेर चुनाव जित्छु’, उनी दाबी गर्दै भन्छन्, ‘मैले विकटमा जनतालाई किन हिंडाएर दु:ख दिन चाहन्न ।’

जिल्लामा नेताले भन्दा आफूले धेरै नागरिकलाई भेटेको र उनीहरूका समस्या थाहा पाएको भन्दै उनले हरेक ठाउँमा नागरिककै पक्षबाट चुनावी अभियान चल्ने उनले बताए ।

‘सबैलाई त मैले भेट्न सकेको छैन तर नेताले भन्दा धेरैका अनुहार चिनेको छु’, उनले भने, ‘धेरैले मलाई प्रत्यक्ष नदेखे पनि कामले चिनेका छन्, जसका मोबाइल छन् त्यसमा म छु।’

बर्थिङ सेन्टर र पूर्ण खोपका जन्मदाता

जाजरकोटको विकट कार्की गाउँमा जन्मिएका नरबहादुरले मुख्य पेशा जीवन प्रशिक्षक हो । तर, उनले त्यही पेशालाई आधार बनाएर कयौं सामाजिक अभियान चलाएका छन् ।

सन् २००५ मा बंगलादेशबाट जनस्वास्थ्य विषयमा स्नातकोत्तर गरेर फर्केपछि गैरसरकारी संस्थामा आवद्ध भएर काम गरे । विभिन्न सामाजिक अभियानमा जोडिए ।

सन् २००६ मा उनले मातृ स्वास्थ्य सुधारका लागि अभियान चलाए । त्यो अभियान बर्थिङ सेन्टर निर्माण हो । २००५ मा नमूना कार्य भए पनि । २००६ मा हुम्लामा औपचारिक रुपमा बर्थिङ सेन्टर स्थापना गरिएको उनले बताए ।

उनलाई धेरै सोधिने मध्येको एउटा प्रश्न हो, यस्तो/त्यस्तो विकट गाउँबाट स्वतन्त्र उठेर कसरी चुनाव जितिन्छ ? कार्की भने ढुक्क हुँदै जवाफ दिन्छन्, ‘जनतामाथि लगाइएका यी सबै लाल्छानाहरू गलत सिद्द हुनेछन्, हाम्रा जनताको विवेक, ज्ञान र परिवर्तन हुन सक्ने चेतनालाई म सधैं महान देख्छु ।’

यो अभियान पछि देशैभर फैलिएको छ । राज्यले नै स्वीकार गरेको उनको भनाइ छ । सन् २०१२ मा पूर्ण खोप अभियान सुरु गरे । अछाममा नमूना स्वरुप यो कार्य सुरु गरेको हो ।

३० वर्ष लामो खोप क्षेत्रको कथा बदल्ने योजनाका साथ यो अभियान चलाएको उनले सुनाए । त्यसबेला १३ प्रतिशत बालबालिकाले खोप पाएका थिएनन् । त्यसैले अध्ययन गरेर पूर्ण खोप अभियान सुरु गरेको उनको भनाइ छ ।

पछि ४०/५० जिल्लामा सुरु भएपछि यो अभियानलाई सरकारले पनि बजेट छुट्याउन थालेको उनले बताए । ‘यो अभियानलाई विश्व स्वास्थ्य संगठनले एडप्ट गरेको थियो । सरकारले पनि अवलम्बन गर्‍यो । पहिले बजेट थिएन’, उनले भने,  ‘रातो किताबमा बजेट थिएन । आयोजक जिल्ला आफैं हुन्थ्यो । ४०/५० जिल्लामा सुरु भएपछि बजेट दिन थालियो ।’

अहिले देशै पूर्ण खोपमुक्त हुने चरणमा रहेको उनको भनाइ छ । यस्ता अभियानमा यसबाट बालबालिका रोगको जोखिमबाट मुक्त भए ।

उनी यस्ता अभियान चलाउन रोकिएनन् । सन् २०१९ छोरीका निम्ति स्वर्णिम महाअभियान । यो बालविवाहविरुद्धको अभियान हो । जुन शून्य लगानीमा सुरु भयो र ५० हजार मान्छे सहभागी भएको उनको दाबी छ । मालिका त्यसकै लागि निर्माण गरिएको चलचित्र हो । यो अभियानमा उनलाई अभिनेत्री रेखा थापाको साथ थियो ।

पहिलो चरणको कोरोना महामारीको बेलामा कार्कीले ‘युनिट एक्सन टिम’ बनाएर काम गरेका थिए । सरकारले एडप्न नगरे पनि ५० बढी पालिकाले कोरोना नियन्त्रण तथा व्यवस्थापनका ‘युनिट एक्सन टिम’ अबलम्बन गरेका थिए ।

सीमा सुरक्षाका आन्दोलन, नो ट्याक्स नो एनसेल, नो एमसीसी जस्ता अभियान चलाए । बाढीपहिरो र कोरोना कालमा राहत वितरण अभियान चलाए ।

एक पटक कोभिड परीक्षणको शुल्क लिने सरकारको निर्णयविरुद्धको आन्दोलनबाट प्रहरी हिरासतसम्म पुगे ।

अहिले उनी एक्लै अभियान चलाउन भन्दा नीति निर्माण तहमै पुगेर काम गर्ने निर्णयमा पुगेको बताउँछन् । अब नीति निर्माण गर्नुपर्छ । गरीब तरिकाले स्रोत साधन चलाउने देश भयो । गरीब होइनौं । राजनीतिक सिण्डिकेटमा परेको छ। प्रतिभाशाली मान्छेले योगदान गर्न पाएनन् । पार्टीभित्र ठाउँ छैन । अब स्वतन्त्र लडेर जानुपर्ने भयो ।’

अफगानिस्तानमा स्वर्णिम गाउँ निर्माण

कार्की सन् २०१६ मा अफगानिस्तान गए । उनी त्यहाँ युनिसेफको अन्तर्राष्ट्रिय परामर्शदाताका रुपमा त्यहाँ गएका हुन् । नेपालमा सञ्चालन भएका वर्थिङ सेन्टर र पूर्ण खोप अभियानबाट प्रभावित भएर युनिसेफले आफूलाई छनोट गरेको उनी बताउँछन् । अफगानिस्तानमा उनले मुख्य दुई वटा अभियान चलाए । एउटा ‘गोल्डेन भिलेज’, अर्को ‘ब्याक टु स्कुल’ ।

गोल्डेन भिलेज अर्थात स्वर्ण गाउँका लागि पाँचवटा सूचक तोकिएको थियो । पूर्ण खोप, प्रसूतिमै सुत्केरी अर्थात संस्थागत सुत्केरी, २० वर्षपछि बिहे, विद्यालय उमेरका बालबालिका भर्ना भएको, र कुनै पनि बत्ता कुपोषित नभएको हुनुपर्ने गोल्डेन भिलेजका सूचक हुन ।

उल्लिखित सूचक पूरा गराएर उनले अफगानिस्तानमा १२८ वटा त्यस्ता गाउँ निर्माण गरेको बताउँछन् । अर्को ‘ब्याक टु स्कुल’ अभियान त्यहाँका ३० लाख बालिकाहरूलाई विद्यालय फर्काउन चलाइएको अभियान हो । त्यसको नेतृत्व पनि कार्कीले नै गरे । त्यसपछि भने उनी सन् २०१८ मा कार्की इराक गए । त्यहाँ पनि उनी पूर्ण खोप अवधारणा लागू गर्ने अभियान सुरु गर्न गएका हुन् ।

मध्यपूर्वको स्वास्थ्य संजालका लागि युनिसेफमार्फत नै इराकका बेबीलोन र काबाला जिल्लामा काम गरे । त्यहाँ ६ महिना काम गरेर नेपाल फर्किएको उनले बताए । फेरि २०१९ मा उनी बंगलादेश पुगे । पूर्ण खोपको राष्ट्रिय रणनीति बनाउन विश्व स्वास्थ्य संगठनमार्फत त्यहाँ पुगेका हुन् ।

त्यसपछि उनी नेपाल नै फर्किएर कोरोना महामारीका बेला ‘युनिट एक्सन टिम’ बनाएर काम गरे । कोरोना महामारी कम हुने बित्तिकै २०२१ मा अफ्रिकी मुलुक सेयरालियोन गए । त्यहाँ उनले स्वास्थ्य क्षेत्रको संस्थागत रुपान्तरणका लागि काम गरे ।

नेपालमा आम निर्वाचनको मिति घोषणापछि भने उनी नेपाल फर्किएर जाजरकोटबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । ‘अरुका देशमा यतिका काम गरियो, नीति बनाइयो,’ उनले भने, ‘अब आफ्नै देशमा काम गर्न सबै छोडेर फर्किएँ ।’

संसारकै प्रभावशाली प्रशिक्षकको सूचीमा

कार्की पेशागत रुपमा जीवन प्रशिक्षक हुन् । १३ वर्षदेखि उनले जीवन प्रशिक्षण विधालाई निरन्तरता दिएका छन् ।

नेपालमा स्वास्थ्यसम्बन्धी काम गरेका उनी सन् २००९ मा ‘कोचिङ कलास’ लिन अमेरिका गए । अमेरिकामा एक वर्षको प्रशिक्षण लिएपछि नेपाल फर्किएका कार्कीले २००९ देखि नै जीवन प्रशिक्षणलाई पेशा बनाए ।

प्रशासनिक, सामाजिक र राजनीतिक क्षेत्रका व्यक्तिलाई संस्थागत रुपमा प्रशिक्षण दिन थाले । उनले यो पेशालाई २०१५ सम्म निरन्तरता दिए ।

उनको दुई कुरालाई केन्द्रमा राखेर कोच गर्छन् । एउटा कथा पुनर्लेखन गर्न सकिन्छ, मान्छे र देशका । अर्को, जीवनको ढाँचा बदल्न सकिन्छ र जीवन र समाज रुपान्तरण गर्न सकिन्छ ।

उनले यही पेशाका कारण सन् २०१५ मा संसारकै प्रभावशाली ‘लाइफ कोच’को अवार्ड जिते । यो अवार्ड ‘वर्ल्ड कोचिङ कंग्रेस’ ले प्रदान गरेको हो । त्यसबेला यसको सम्मेलन भारतको मुम्बईमा भएको थियो । त्या संसारका ५० प्रभावशाली कोच छनोट गरिएको थियो, जसमा नेपालबाट कार्की परेका हुन् ।

यो अवार्डपछि उनी नेपालमा चर्चित भए । हालसम्म नेपालमा मात्रै ४ लाख मान्छेलाई जीवनका कथा पुनर्लेखन गर्न सिकाएको दाबी कार्कीको छ ।

जीवन प्रशिक्षण पेशाबाटै स्थापित भएका कार्कीले जाजरकोटबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेपछि भने धेरै प्रश्न झेल्नु परेको छ ।

उनलाई धेरै सोधिने मध्येको एउटा प्रश्न हो, यस्तो/त्यस्तो विकट गाउँबाट स्वतन्त्र उठेर कसरी चुनाव जितिन्छ ? अर्को प्रश्न- गाउँका मान्छे पैसामा बिक्छन्, पार्टीका चिह्न छोड्दैनन् । तपाईंलाई कसले भोट हाल्छ ?

कार्की भने ढुक्क हुँदै जवाफ दिने गरेको बताउँछन् । ‘जनतामाथि लगाइएका यी सबै लाल्छानाहरू गलत सिद्द हुनेछन्, हाम्रा जनताको विवेक, ज्ञान र परिवर्तन हुन सक्ने चेतनालाई म सधैं महान देख्छु,’ उनले भने । साभार: अनलाइनखबरबाट 

प्रतिकृया दिनुहोस्