OnlinePana

आज : २०७९ आषाढ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ११, २०७८काठमाडौं
१९७ पटक

 

फाइबर अप्टिक केबल

हालैको एउटा शक्तिशाली ज्वालामुखी विस्फोटनका कारण दक्षिण प्रशान्त क्षेत्रको टापु राष्ट्र टोङ्गालाई बाँकी विश्वसँग जोड्न समुद्रमुनि बिछ्याइएको फाइबर-अप्टिक तार चुँडिएको छ।

न्यूजील्यान्डको विदेश मन्त्रालयले महासागरमुनि ४९,८८९ किलोमिटर लामो तार मर्मतका लागि एक महिनाभन्दा बढी समय लाग्ने जनाएको छ।

समुद्रमुनिको ज्वालामुखी विस्फोटन भएपछि उत्पन्न सुनामीका कारण टोङ्गाका १,१०,००० मानिसहरूको बाहिरी विश्वसँगको सम्पर्क विच्छेद भएको छ।

साउथ प्यासिफिक विश्वविद्यालयको भूउपग्रह प्रयोग गरेर मुख्य टापुमा टूजी प्रविधिको ताररहित इन्टरनेट स्थापना गरिएको छ। तर यो इन्टरनेट निकै सुस्त गतिमा चल्छ।

टुटेका तारहरू कसरी जोडिन्छन्?

टोङ्गा केबलले सञ्चालन गरिरहेका तारहरू तटीय क्षेत्रमा ३७ किलोमिटरसम्म चुँडिएको आकलन गरिएको छ। समाचार संस्था रोयटर्सका अनुसार ज्वालामुखीपछि कम्पनीले गरेको जाँचका क्रममा तार छिनेको पत्ता लागेको थियो।

युरोपेली सब सी केवल असोसिएशनका उपाध्यक्ष समेत रहेका भर्जिन मिडियाका इन्जिनियर पिटर जेमिसनका अनुसार यसको जाँच एकदमै सरल छ।

“उनीहरूले टापुबाट प्रकाशको एउटा ‘पल्स’ पठाउँछन् जसलाई यात्रा गर्न कति समय लाग्छ भनेर एउटा मसिनले मापन गरेपछि कहाँ तार टुटेको छ भनेर थाहा हुन्छ,” उनले भने।

मर्मत गर्ने डुङ्गालाई समुद्रमुनि तार टुटेको पहिलो ठाउँमा पठाइन्छ। त्यसपछि यसले आरओभी भनिने टाढैबाट सञ्चालन गर्न सकिने पनडुब्बी साधन वा ग्रापनेल भनिने एउटा चेन जडित हुकको सहायताले टुटेको ठाउँ पत्ता लगाउँछ ।

यसले तार टुटेको ठाउँमा डुङ्गामार्फत लगिएको नयाँ तार जोड्छ र तार चुँडिएको अर्को छेउमा पनि त्यसरी नै जोडिन्छ। सबै काम फटाफट हुँदा यसको लागि पाँचदेखि सात दिनसम्म लाग्नसक्छ।

यसलाई किन लामो समय लाग्नसक्छ?

तर मर्मतका लागि प्रयोग हुने विशेष डुङ्गा सबैभन्दा पहिले यो टापुमा पुग्न नै समय लाग्छ। यी टापुहरूबाट सबैभन्दा नजिक मर्मत गर्ने डुङ्गा पपुवा न्युगिनीको मोर्सबाई बन्दरगाहमा छ। जुन ४,७०० किलोमिटर टाढा हो।

रिलायन्स नामको यो विशेष डुङ्गाले दक्षिण प्रशान्त क्षेत्रको ५०,००० किलोमिटर क्षेत्रमा सेवा दिँदै आएको छ।

 

तर त्यसअघि विज्ञहरूले हालै ज्वालामुखी विस्फोट भएको समुद्र डुङ्गा र कर्मचारीहरूका लागि सुरक्षित रहे नरहेको निर्क्यौल गर्नुपर्नेछ।

यस्ता तारहरू बारम्बार टुटिरहन्छन्?

यस्ता खाले मर्मतहरू वर्षमा २०० वटा मात्र हुने गरेको अनुमान छ। त्यसमा पनि प्राकृतिक विपत्तिका कारण तारहरू चुँडिने घना कमै मात्र हुने गर्छन्। अधिकांश तारहरू चुँडिने घटना माछा मार्ने डुङ्गामा लगाइने जाली र बल्छीका कारण हुने गर्छन्।

तर रोचक के छ भने यस्तो तारहरू बिछ्याइएको ठाउँ नजिक कुनै पनि डुङ्गाहरू आएको अवस्थामा जानकारी दिने प्रविधिको प्रयोग भएको हुन्छ। जसले तारहरू छेउ आउने डुङ्गाहरूलाई सचेत गराउन मद्दत पुग्छ।

डेटा केबलहरू सिसाको फाइबरअप्टिक तत्त्वबाट बनेका हुन्छन्। फाइबरलाई सुरक्षाका लागि बाहिरी आवरणमा प्रयोग गरिएको तत्त्वका कारण मात्रै यस्ता तारहरू मोटो देखिने गर्छन्।

एउटा महाद्वीपबाट अर्को महाद्वीपसम्म पुग्ने तारहरू समुद्रमुनि एकदेखि दुई मिटर गहिराइसम्म पुरिनुपर्छ। तर धेरे गहिरो समुद्रमा तारहरूमा क्षति पुग्ने सम्भावना कम हुने भएकाले अधिकांश यस्ता तारहरू समुद्रमुनिको सतहमा यत्तिकै छोडिने गरिएका छन्।

यस्ता तारहरूमा क्षति पुग्ने भनेको टोङ्गामा भएको जस्तो अपवादमा हुने प्राकृतिक विपद् हो।

सन् २००६ मा ताइवानको तटीय क्षेत्रमा गएको भूकम्पले पनि तारहरू चुँडाएको थियो। त्यसपछि उक्त क्षेत्रमा इन्टरनेट र अन्तर्राष्ट्रिय टेलिफोन सम्पर्क टुटेको थियो।

यी तारहरू कत्तिको महत्त्वपूर्ण छन्?

पश्चिमा देशहरूमा एउटा तार टुटिहाले पनि खासै समस्या हुँदैन किनभने यहाँ धेरै यस्ता तारहरू छन्।

उदाहरणका लागि युकेसँग देशमा डेटा आदानप्रदानका लागि यस्ता ५० वटा तारहरू छन्।

तर टोङ्गामा यस्तो तार एउटा मात्रै थियो।

“यस्ता तारहरू दुई वटासम्म हुनु राम्रो हो,” जेमिसन भन्छन्। “तर तारहरू महँगा छन् र फेसबुक, गुगल कुनैले पनि त्यहाँसम्म तार लगेका छैनन्।”

विश्वभरी अहिले झन्डै ४३० वटा समुद्रमुनि बिछ्याइएका तार छन्।

करिब १३ लाख किलोमिटर फैलिएका यस्ता तारहरूले संसारभरि इन्टरनेट र सञ्चार सेवा पुर्‍याउँछन्।

सन् २०१९ मा एउटा जहाजको लङ्गरका कारण यस्तो तार चुँडिएपछि टोङ्गाले भूउपग्रहमार्फत सञ्चारका सञ्जालका लागि १५ वर्षे सम्झौतामा हस्ताक्षर गरेको थियो।

तर ज्वालामुखीको खरानीले देशको आकाश ढाकिएपछि स्याटलाइट फोनहरूले पनि काम गरेनन्। केही व्यक्तिहरूले आफूहरूले फोन गर्न सके पनि आएका फोनहरू उठाउन नसकेको बताएका छन्।

धेरै खर्चिलो हुने भएकाले स्याटलाइट फोनहरू पनि सरकारी अधिकारी र केही व्यापारिक घरानाहरूले मात्रै प्रयोग गर्ने गरेका छन्।

मोबाइल सेवा प्रदायक डिजिसेलले टोङ्गाटापु भनिने मुख्य द्विपमा साउथ प्यासिफिक विश्वविद्यालयको भूउपग्रह उपकरण मार्फत टुजी सेवा प्रदान गर्न अन्तरिम प्रणाली जडान गरेको छ।  विविसिबाट

 

प्रतिकृया दिनुहोस्