OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २०, २०७८जुम्ला,
७८० पटक

जुमला  , १८ कार्तिक  : चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था जुम्लाका कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डेले दैनिक रु.एक लाखको रैथानेबाली बिक्री गर्दै आएको बताउनुभएको छ ।
चन्दननाथ सहकारीद्वारा जुम्ला सदरमुकाममा सञ्चालित मिनि मार्केटबारे जानकारी दिँदै कार्यकारी व्यवस्थापक पाण्डेले संस्थाले कर्णालीमा उत्पादित तथा संकलित रैथाने खाद्यवस्तु दैनिकरुपमा रु.एक लाखको बिक्री गर्दै आएको बताउनुभयो ।

“सिमी, चामल, फापर, चिनो कागुनो, कोदो, जौं, भट्टमास, गहत, गुराउँस, कलालगायतका रैथाने खाद्यबाली बिक्री गर्दै आएका छौं,” उहाँले भन्नुभयो,
त्यस्तै, जडिबुटीमा चियापत्ती, टिमुर, जिम्बो, फलफुलमा ओखर, स्याउ र रैथाने पहिरनहरुमा खरायो र ऊनको टोपी बिक्रीवितरण हुने गरेको उहाँले बताउनुभयो । अहिले संस्थाले प्रति केजी क्रमशः कालो सिमी रु.१८०, रातो र मिश्रित सिमी रु.१६०, मार्सी चामल रु.१६०, चिनो, कागुनो र भट्टमास कालो रु.२००, फापरको पिठो, गुराउँस र गहत रु.२५० बिक्री गरिँदै आएको उहाँको भनाई छ ।

उक्त संस्थामार्फत स्थानीय उत्पादन, राडीपाखी, लिउ, खरायो तथा उनको टोपी, कोट, झोलालगायत समान पनि बिक्री हुने गरेका छन् । स्थानीयस्तरमा उत्पादित ती समानको प्रति पिस रु.एक हजार ३०० देखि आठ हजार ५०० मूल्य गरेको जनाईएको छ । संस्थाले यस वर्ष सबै गरेर रु.५० लाखको रैथाने खाद्यबाली संकलन गरी बिक्री वितरण गर्ने लक्ष्य राखेको व्यवस्थापक पाण्डेले बताउनुभयो ।

मार्सी चामल र सिमीको माग बढ्दो :

कार्तिक लागेसँगै मार्सी चामल र सिमीको खरिद बिक्रीले बजार लिन थालेको छ । सुपथ पसलका व्यापारीहरुका साथै भित्री मधेश तथा तराई झर्नेहरुले मार्सी चामल र सिमी किसानबाट किन्ने क्रम बढ्ेको छ ।

मुगुको राराताल हेर्ने पर्यटकहरु जुम्ला भएर जाँदै गर्दा मार्सी चामल र सिमी लिने गरेको उक्त सहकारीले जनाएको छ । “अन्तर जिल्लाबाट आउने पर्यटकहरुमा सबैभन्दा बुटवल, चितवनका पर्यटकहरुले मार्सी चामल र सिमी लिँदै आएका छन्,” व्यवस्थापक पाण्डेले भन्नुभयो, “अहिले त जिल्लाभित्रबाट बाहिर जाने हरेकले कोसेली एवं नासोको किनेर लिने गर्दछन् ।”

मार्सी चामल र सिमीको माग बढ्दो भएकोले पूर्ति गर्न धौ–धौ भएको उहाँले जनाउनुभयो । उहाँले भन्नुभयो, “यसपालिको प्राकृतिक विपत्तिले मार्सी चामल र सिमीलगायतका बालीमा क्षति पुर्याएको कारण उत्पादन निकै घट्दो अवस्थामा गएको छ । यसले गर्दा पनि माग अनुसारको पूर्ति गर्न समस्या भईरहेको छ ।”

कार्यकारी व्यवस्थापक पाण्डेका अनुसार चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाका २० हजार शेयर सदस्यहरु मध्ये १२ हजार गाउँकै छन् । ती १२ हजार शेयर सदस्यहरुबाट उत्पादित रैथानेबाली संकलन कार्यलाई तीव्रता दिईएको र त्यसले बजारको माग पूर्ति तथा शेयर सदस्यहरुको आम्दानीमा सहयोग र बिक्रीवितरणमा सहजता भएको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्