२८ साउन २०७८ बिहीबार
सशस्त्र विद्रोहदेखि संघीय व्यवस्थाको प्रदेश संरचनामा पुगेर अनपेक्षितरुपमा मुख्यमन्त्रीको पद सम्हाल्ने अवसर प्राप्त गर्ने कुलप्रसाद केसी नेकपा माओवादी केन्द्रको एक सशक्त नेता हुन् । विसं. २०२७ सालमा रोल्पाको कोटगाउँ २ जिबाङमा जन्मेका केसी आमा रजमता र बुबा टिकाराम केसीका ५ भाई छोरा मध्य कान्छो हुन् ।
उनले रोल्पाको सदरमुकाम लिबाङस्थित बालकल्याण उच्च माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए भने थप अध्ययन दाङको महेन्द्र बहुमुखी क्याम्पसमा गरे । नेकपा मसालको विद्यार्थी संगठनबाट राजनीति थालेका उनले विसं.२०४३ सालबाट सक्रिय राजनीति शुरु गरेका थिए । विसं. २०४६ देखि २०४७ सम्म पार्टीको विद्यार्थी संगठनको दाङ जिल्ला सचिवको जिम्मेवारीको रुपमा काम गरे । उनले विसं.२०४७ सालमा पार्टीको सदस्यता प्राप्त गरे । २०४८ मा तत्कालीन एकता केन्द्र पार्टीले एरिया सेक्रेटरीको जिम्मेवारी दियो ।
विसं.२०४८ सालदेखि २०५० सालसम्म उनी शिक्षक पेशामा आवद्ध थिए । विसं.२०५० सालमा विभिन्न राजनीति मुद्दाहरु लगाएपछि शिक्षण पेशा छोडेर पार्टीको काममा सक्रिय भएर उनी काम गर्न थाले । विसं.२०५२ सालमा पार्टीका दोस्रो जिल्ला सम्मेलनबाट जिल्ला समिति सदस्यमा चयन भएपछि केसी नेकपा माओवादी पार्टीको पूर्णकालीन सदस्य भएर पार्टीको काममा खट्न थाले ।
तत्कालीन माओवादीले होलेरी आक्रमण गर्दा उक्त मोर्चामा केसी पनि सहभागी भए । विसं.२०५५ सालमा पार्टीले उनलाई दाङ–सल्यान–प्यूठान संयुक्त जिल्लाको सेक्रेटरीको भूमिका दियो । विसं.२०५६ सालमा भेरी–कर्णाली सैन्य कमिसार बनेका उनी विसं.२०५७ सालमा माओवादी पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए ।
विसं.२०६० सालमा पार्टीको बैठकको लागि भारत जाँदा केसी भारतीय भूमि पटनाबाट गिरफ्तार भए । उनलाई विसं.२०६० जेठ २० देखि २०६३ साउन महिनासम्म भारतको बक्सर जेल चलान गरियो । उनीसँगै माओवादीका अन्य नेताहरु पनि पक्राउ परेका थिए । त्यो अवधिमा उनीसहित माओवादीका नेताहरुले त्यहाँको जेलजीवनको कठोर यातना सहे ।
विसं.२०६३ सालमा जेलमुक्त भएपछि केसी पार्टीको कामीडाँडा बैठकबाट जनमुक्ति सेनाको तेस्रो डिभिजन कमिसार भए । त्यसका साथै उनी नारायणी–भेरी–कर्णाली–सेती र महाकाली ब्यूरो इन्चार्चको जिम्मेवारी समेत सम्हालेका थिए ।
शान्ति प्रक्रिया शुरु भएपछि सेना समायोजनको क्रममा पार्टीले उनलाई वाइसिएलको इन्चार्जको जिम्मेवारी दियो । विसं.२०५९ सालमा एकीकृत माओवादीको पोलिटब्यूरो सदस्य चुनिए तर पार्टी विभाजनपश्चात् वैद्य समूहमा आवद्ध भए र पार्टीमा स्थायी समितिमा रहेर काम गरे । फलतः विसं. २०७३ सालमा माओवादी केन्द्र गठन हुँदा केन्द्रीय कार्यालय सदस्य भए । विसं.२०७४ सालको प्रदेशसभा निर्वाचनमा उनलाई पार्टीले रोल्पा जिल्ला निर्वाचन क्षेत्र नं. १ (क) बाट उम्मेदवार बनायो । र त्यो निर्वाचनमा उनी विजयी बने ।
माओवादी केन्द्रबाट निर्वाचित भएपछि उनको संसदीय यात्रा प्रारम्भ भयो । केसी पार्टीको तर्फबाट तत्कालीन ५ नं प्रदेशको संसदीय दलको नेता चयन भए र एमालेसँग संयुक्त सरकार गठन हुँदा आन्तरिक मामिला तथा कानून मन्त्री बने । पछि एमाले र माओवादी केन्द्रको एकीकरणपश्चात नेकपा गठन हुँदा लुम्बिनी प्रदेशको सह–इन्चार्ज तथा संसदीय दलको उपनेता भए ।
जब सर्वोच्च अदालतको विसं.२०७७ फागुन २३ को फैसलाले नेकपा एमाले र माओवादी केन्द्र पुरानै अस्तित्वमा आएपछि केसी पुनः पार्टीको संसदीय दलका नेता रुपमा रहेका थिए । प्रदेशसभामा निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेपछि मुख्यमन्त्रीका लागि विपक्षी गठबन्धनको समेत साझा उम्मेदवार उनी साउन २८ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको पदमा नियुक्त भएका छन् ।
तत्कालीन सरकारले शिक्षण पेशाबाट हटाए पछि सक्रिय राजनीतिमा लागेर संघर्ष गर्दै लुम्बिनी प्रदेशको दोस्रो मुख्यमन्त्री बन्न सफल केसीकी श्रीमती तारा घर्ती मगर माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन । अलि कडा स्वभावका मानिने उनका हाल एक छोरा र एक छोरी छन् ।