२० असार २०८३, शनिबार
सुर्खेतः कर्णाली प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरस्थित प्रदेश रंगशालामा ‘नेपाल लेजेन्ड्स भर्सेस कर्णाली लेजेन्ड्स’बीच प्रतिस्पर्धा हुने भएको छ ।
ग्रीनल्याण्ड फुटबल एकेडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा सुर्खेतमा यही असार २७ गते शनिबारका दिन पूर्व राष्ट्रिय खेलाडीहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सञ्चालन हुने एकेडेमीका अध्यक्ष शशी केसीले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।
प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी गणेश थापा, उपेन्द्रमान सिंह, अनिल गुरुङ, बालगोपाल महर्जन, सागर थापा, हरि खड्कालगायत चर्चित खेलाडीहरूको सहभागिता हुने उहाँले बताउनुभयो । अध्यक्ष शशि केसीका अनुसार कर्णाली प्रदेशमै पहिलो पटक यति राष्ट्रियस्तरमा पूर्व राष्ट्रिय खेलाडीहरुको सहभागितामा खेल आयोजना गर्न लागिएको हो ।
कर्णालीमा फुटबलप्रतिको आकर्षण बढाउने, स्थानीय प्रतिभालाई पहिचान गर्ने तथा पूर्व खेलाडीहरुको सम्मान गर्ने तथा कर्णालीले पनि राष्ट्रियस्तरको खेल सञ्चालन गर्न सक्छ भन्ने विश्वास दिलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँको भनाई थियो ।
कर्णाली प्रदेशका तर्फबाट राष्ट्रिय खेलाडी रोहित चन्दसहित प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्द, नवीन भण्डारी, जनक रावल, जनक थापा, नारायण कोइराला, ऋषि गिरी, ललित बसेललगायतका खेलाडी प्रतियोगितामा सहभागी हुनेछन् ।
उक्त प्रतियोगितामा विभिन्न विधामा पुरस्कारसमेत प्रदान गरिनेछ। जसअनुसार समाजसेवी तथा शिक्षाविद् स्वर्गीय खड्कबहादुर बस्नेतको नाममा “म्यान अफ द म्याच”, शिक्षाविद् स्वर्गीय विष्णुप्रसाद गौतमको नाममा “बेस्ट प्लेयर”, समाजसेवी स्वर्गीय डीबी समदर्शीको नाममा “बेस्ट गोलकिपर”, शिक्षाप्रेमी समाजसेवी डा. सञ्जु खड्काको नाममा “बेस्ट डिफेन्डर” तथा समाजसेवी स्वर्गीय डा. हरि सापकोटाको नाममा “बेस्ट स्कोरर” पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिताको अनुमानित लागत करिब रु.२५ लाख रहेको आयोजकले जनाएको छ । सो रकम एकेडेमीले व्यवस्थापन गर्ने र कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले केही सहयोग गर्ने आश्वासन दिएको अध्यक्ष केसीले बताउँदै अन्य सरकारी निकायबाट भने उल्लेख्य सहयोग नपाएको उहाँको भनाई थियो ।
खेल हेर्नका लागि २००, ३००, ५०० र एक हजार दरका टिकट व्यवस्था गरिएको छ भने विद्यार्थीहरुलाई निःशुल्क प्रवेश दिइनेछ। आयोजकका अनुसार यस प्रतियोगिताले कर्णाली प्रदेशमा आगामी दशाैं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न थप ऊर्जा र दबाब सिर्जना गर्ने विश्वास लिइएको छ।








