

८ माघ २०८२, बिहीबार
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम नगर्ने निर्माण व्यवसायीहरुले सञ्चालन गरेका रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयद्वारा आज सुर्खेत वीरेन्द्रनगमा आयोजित अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले जिम्मा लिने लिने तर समयमा काम नगरेर अलपत्र पारिएका रुग्ण आयोजनाका ठेक्का प्रक्रिया मिलाएर तोड्न भौतिक मन्त्रालयलाई निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “जतिसुकै पहुँच र शक्ति भएपनि समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोड्नुस् ।”
मुख्यमन्त्री कँडेलले सरकारले आवश्यक बजेट छुट्टयाउने तर समयमा आयोजनाको काम सम्पन्न नगरेर अलपत्र पार्दा त्यसले हामीप्रति नै नागरिकको अविश्वास पैदा हुने बताउँदै भन्नुभयो, “पैसा भएर काम हुन नसकेको र योजना अलपत्र छाड्छ भने त्यस्ता निर्माण व्यवसायीप्रति लचिलो हुनुपर्ने जरुरी र्छैन ।” सकेसम्म निर्माण व्यवसायीलाई सहजीकरण गरेर आयोजना सम्पन्न गर्ने दायित्व तिर लाग्न र यसले समेत परिणाम नदेखिए नियमसंगत रुपमा ठेक्का अन्त्य गर्न उहाँले मन्त्रालयलाई निर्देशन दिनुभयो ।
प्रदेश राजधानी अन्तरगतका सडक निर्माणमा लापरवाही गर्दा पूर्वमन्त्रीको समेत ठेक्का तोडिएको र त्यसरी तोडिएका ती आयोजनाहरुलाई पुनः सञ्चालनका लागि आवश्यक तयारी गर्न उहाँले सुझाउनुभयो । तोकिएको समयमा काम सम्पन्न नगरेका बहालवाला सांसद र मन्त्री संग्लन भएको ठेक्का तोडिएकोले कुनै शक्तिबाट नडराउन र त्यस्तो केही आईपरे सरकार त्यसको जिम्मा लिने उहाँको भनाई थियो ।
मुख्यमन्त्री कँडेलले पुरातनवादी सोचबाट गरिएका कामले परिणाम प्राप्त गर्न असंभव देखिएकोले कर्मचारीहरुलाई कार्यशैली बदल्न समेत सुझाउनुभयो । नेता रिसाइहाल्छन् कि भनेर नहुने काम बोक्दै नहिड्न र हुने काम नियमसँगत गर्नतर्फ केन्द्रित हुनुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा मन्त्रालयका सचिव अर्जुन बमले पछिल्ला तीन वर्ष भन्दा अघिका केही आयोजनाहरु रुग्ण रहेकोले त्यसबारे समयमा निर्णय लिनुपर्ने बताउनुभयो । उहाँले चालु आव.मा करिव ८२ प्रतिशत खरिद प्रक्रियामा गइसकेको र केही बहुवर्षीय आयोजना स्वीकृतिको चरणमा रहेकोले माघ मसान्तसम्म सबै आयोजना ठेक्का प्रक्रियामा गइसक्ने बताउनुभयो ।











