

५ पुस २०८२, शनिबार
सुर्खेतः कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा राष्ट्रियस्तरको अपाङ्ग खेलकुद प्रतियोगिता गरिने भएको छ ।
पारा फाउण्डेसन शाखा कार्यालय सुर्खेतले यही माघ ९–१४ गतेसम्म राष्ट्रियस्तरको अपाङ्ग खेलकुद प्रतियोगिता गर्ने भएको हो । आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत फाउण्डेसनका अध्यक्ष किशोर शाहीले अपाङ्गता भएका व्यक्तिहरुले पनि अवसर पाए सपाङ्ग जस्तै आफ्नो क्षमता प्रदर्शन गर्न सक्छन् र मुलुकलाई विश्वसामु चिनाउन हैसियत राख्छन् भन्ने बुझाउन र उनीहरुलाई प्रोत्साहित गर्न खेलुकद प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो ।
अध्यक्ष शाहीले भन्नुभयो, “करिब एक हप्ताको अवधिमा हामी महिला र पुरुष बास्केटबल प्रतियोगिता गर्नेछौं । यसका लागि सातै प्रदेश र विभागीय टोलीको सहभागिता हुनेछ । त्यस्तै ह्वीलचियर क्रिकेट, ह्वीलचियर महिला र पुरुष पाँच किलोमिटर दौड र ह्वीलचियर नृत्य प्रतियोगिता गरिनेछ ।” यसका लागि दुई सय ह्वीलचियर प्रयोगकर्ता खेलाडीहरुको सहभागिता हुने उहाँले बताउनुभयो ।
खासगरी अपाङ्गता भएका व्यक्तिप्रति समाजको हेर्ने दृष्टिकोण बदल्न, राज्यको ध्यानाकर्षण गर्न, क्षमता अभिवृद्धि गर्न, समावेशी खेलकुदको प्रवद्र्धन तथा अपाङ्गता खेलाडीहरु चिनाउन, राष्ट्रिय खेलकुद जस्तै पारा राष्ट्रिय खेलकुद प्रतियोगिता पनि कर्णालीमा सम्पन्न गर्न सकिन्छ सन्देश विश्वभर फैलाउन उच्च साहस र संघर्ष गर्दै प्रतियोगिताको सञ्चालन र व्यवस्थापन गर्न तर्फ लागिएको अध्यक्ष शाहीले जनाउनुभयो ।
आयोजकका अनुसार ह्वीलचियर बास्केटबल प्रतियोगिता वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला र क्रिकेट प्रतियोगिता कालिञ्चोकको क्रिकेट मैदानमा सञ्चालन हुनेछ । त्यस्तै, ह्वीलचियर दौड प्रतियोगिता वीरेन्द्रनगरको एयरपोर्टदेखि बाङ्गेसिमलसम्मको पाँच किलोमिटर दूरीमा सञ्चालन हनेछ । प्रतियोगिता सञ्चालनका लागि रु.२२ लाख बजेट आवश्यक हुने भएकोले सरोकारवालाहरुसँग आर्थिक सहयोगको अपेक्षा गरिएको छ ।
प्रदेश सरकारले अपाङ्गतासम्बन्धी स्पष्ट नीति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष शाहीले उक्त प्रतियोगितालाई पर्यटनसँग जोड्नसमेत प्रयास गरिने जनाउनुभयो ।













