जेठ २२, २०८२

२३ पटक

२१ जेठ २०८२, बुधबार
सुर्खेतः ‘टी.बी स्मृति प्रथम यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता’ तेस्रो दिन गण्डकीलाई पराजित गर्दै मधेश प्रदेशले लगतार दोस्रो जीत निकालेको छ ।
सुर्खेत वीरेन्द्रनगरस्थित कालुङचोक खेल मैदानमा यही जेठ १९ गते सोमबारदेखि सुरु भएको उक्त प्रतियोगितामा आज गण्डकी प्रदेशसँग भएको खेलमा मधेश प्रदेशका अभय यादवको कसिलो बलिङको मद्दतमा दोश्रो जीत निकालेको हो । आठ दशमलव दुई ओभर बलिङ गर्नुभएका उहाँले दुई दशमलव २८ को औसतमा जम्मा १९ रन खर्चिएर गण्डकीलाई ७ विकेटमा झार्दै टोलीलाई दोश्रो जीतसंगै थप २ अंक दिलाउनुभयो ।
अभयले ३८ डट बल फाल्दै विपक्षीका ७ विकेट ढाल्ने क्रममा शुरुवाती क्रममा तीन जनालाई ब्याटरमध्ये बिनय कार्कीलाई १४, सुप्रिम सुनारलाई ११ र समिर न्यौपानलाई शून्यकै अवस्थामा आप्mनो सिकार बनाउनुभयो । प्लेयर अफ दि म्याच घोषित अभयको बलिङको फन्दामा परेर २५ रन जोड्दाको अवस्थामा शुरुवाती क्रमका तीन जना महत्वपूर्ण ब्याटर गुमाएको गण्डकीका अरु ब्याटरलाई पनि उहाँले खुलेर खेल्ने मौका नै दिनु भएन ।
पाँचौ नम्बरमा आएका भुवन भट्टराईको जम्मा तीन रनको व्यक्तिगत स्कोरमा एल.बी.डब्ल्यूको धरापमा पार्नुभएका यादवले अनिष राउतलाई नौ रनमा स्टम्प्ड गराउनुभयो भने राज परियारलाई ५ तथा रिदम पाण्डेलाई ५ रनमा आफै बलिङ, आफै क्याच गर्दै पवेलियन फर्काउनुभयो ।
१५ रन अतिरिक्त पाएको गण्डकीको पारी ३२ दशमलव २ ओभरमा जम्मा एक सय चार रनमा सीमित भयो । जसमा रोज श्रेष्ठले सर्वाधिक २०, विनय कार्की र रमित कँडेलले समान १५ तथा सुप्रिम सुनाले ११ रन जोड्नुभएको थियो ।
एक सय पाँच रनको सामान्य लक्ष्य लिएर जवाफी ब्याटिङ थालेको मधेशले जीतका लागि धेरै संघर्ष गर्नपरेन । जम्मा १४ दशमलव एक ओभरमा पाँच विकेट सुरक्षित राख्दै जीत निश्चित गरेको थियो ।
वीरेन्द्रनगर मैदानमा भएको खेलमा १५ बलमा २५ रनको बलियो आधार गरेर आउट भएका सुशान्त सिंहको स्कोरमा शेख अरमानको २३, माहि यादवको १३ र नुमैर यादवको १० रनको योगदान मधेशको जीतका लागि पर्याप्त भयो ।
कोशीले खाता खोल्यो
आज कालुङ्गचोक मैदानमा भएको खेलमा कोशीले आप्mनो दोश्रो खेलमा सुदूरपश्चिमलाई ७ विकेटले हराउँदै पहिलो २ अंक जोड्न सफल भएको छ । अंक तालिकामा कोशीको खाता खुलाउने क्रममा शिवांश बजगाईँले ३४ र राजीव महतोले नटआउट ३० रनको पारी खेल्दा रविन मण्डलले १५ तथा अनिश मण्डलले ९ रन जोड्नुभयो । कोशीको बोर्डमा सुदूपरिश्चमका तर्फबाट १९ रन अतिरिक्त जोडिन पुग्यो ।
पहिलो खेलमाझैं दोश्रो खेलमा पनि ब्याटिङसँंगै बलिङर्फ पनि उत्तिकै उत्कृष्ट प्रदर्शन गरेका कोशीका अल राउण्डर राजीव महतो लगातार दोश्रो पटक प्लयेर अफ दि म्याच हुन सफल हुनुभयो । प्रतियोगिताको तेस्रो दिनसम्म आईपुग्दा दुई खेल खेलेको कोशीले पाएको पहिलो जीतसँगैे दुई अंक पाएर अंक तालिकाको पाँचौ स्थानमा उभिएको छ ।
त्यसअघि पहिला ब्याटिङ गरेको सुदूपश्चिमले जम्मा १८ ओभर तीन बलमा अलआउट हुनअघि एक सय एक रनको झिनो योगफल खडा गरेको थियो । कमजोर प्रदर्शनलाई निरन्तरता दिने क्रममा सुदूरपश्चिमेली टोलीका लागि ओपनर विक्रम बोहराले २० र अविरल विकले २८ रन जोड्दा अरु कसैले नौ भन्दा बढी रन बनाउन सकेनन् ।