OnlinePana

आज : २०८१ मंसिर १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ४, २०८०सुर्खेत
१०० पटक

 ४ माघ २०८०, बिहीबार

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले शिक्षाका समस्या देशैभरि भएको बताउनुभएको छ ।

शिक्षा पत्रकार कर्णाली प्रदेश समन्वय समिति सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘कर्णालीका शैक्षिक सवाल सम्बन्धी बहस तथा कर्णाली शिक्षापत्र’ बिमोचन कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले कर्णालीमा मात्र नभई शिक्षाका समस्या देशैभरि भएको टिप्पणी गर्नुभयो । “शिक्षा बिग्रनुको प्रमुख कारण राजनीति हो,” उहाँले भन्नुभयो, शिक्षासँग सम्बन्धित विभिन्न संघ÷संगठनहरुले बालबालिका र समुदायको हितमा भन्दा निहित स्वार्थ पुरा गर्न राजनीति गर्दै आएका छन् । ”

संघ÷संगठनमा लागेका शिक्षक नेताहरुले यहाँको शिक्षासँग सम्बन्धित मुद्दामा कुनै पनि सुझाव सल्लाह सरकारलाई नदिएको उहाँको भनाई थियो । कर्णालीको शिक्षा अवस्था सुधारका लागि सरकारले आफ्नो प्रयास जारी राखेको बताउँदै मन्त्री पोखरेलले ईच्छाशक्ति भएका प्रधानाध्यापकहरुले दुर्गममा समेत नमूना काम गरेको जनाउनुभयो ।

सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले कर्णालीको शैक्षिक अवस्थाका विषयमा बहस भन्दा व्यवहार आवश्यक भएको प्रतिक्रिया दिनुभयो । “यहाँको शिक्षाको अवस्था कमजोर छ भन्ने हामी सबैलाई थाहा छ,” उहाँले भन्नुभयो, “अब यसको सुधार र थप विकास कसरी गर्न सकिन्छ भन्नेतर्फ सरकारले कार्यान्वयन पक्षलाई जोड दिनुपर्दछ ।”

कर्णाली प्रदेश योजना आयोगका सदस्य जीतबहादुर शाहले शिक्षामा बजेट घट्दो क्रममा रहेकोले पनि अपेक्षित प्रतिफल आउन नसकेको बताउनुभयो । उहाँले कर्णालीमा १२ हजार दरबन्दीमा कार्यरत शिक्षकहरुमध्ये दुव्र्यसनीमा लागेका कति छन् भन्ने तथ्याङ्क आउनुपर्नेमा जोड दिँदै दलित नभई विपन्नलाई मात्र छात्रवृति दिने नीति कर्णालीमा आवश्यक भएको औंल्याउनुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव डा.भोजराज शर्मा काफ्लेले शैक्षिक क्षेत्रको बिमर्शले सकरात्मक प्रभाव पार्ने बताउनुभयो । अहिले पठनपाठनका विषयमा बढी छलफल भएको बताउँदै सचिव काफ्लेले विषयवस्तुभित्र पस्न खोजेमा परिणाम अपेक्षित आउने जनाउनुभयो ।

मध्यपश्चिम विश्वविद्यालयका प्राडा.चन्द्रप्रकाश रिजालले शिक्षा क्षेत्रको कर्मकाण्डीय पद्धतिलाई उदाङ्गो पारेर लैजानुपर्ने तर्क गर्नुभयो । “अब हामीले पाठ्यक्रमको पुनःसंरचना र पाठ्यपुस्तकको पुनःलेखन गर्न आवश्यक छ,” प्राडा.रिजालले भन्नुभयो, “शिक्षामा हुने घुसपैठलाई पूर्णरुपले बन्द गर्नुपर्दछ ।”

उक्त कार्यक्रममा शैक्षिक योजना तथ्याङ्क तथा अनुसन्धान शाखा प्रमुख बलबीर सुनारले कर्णालीको समग्र शैक्षिक अवस्था तथा सेभ द चिल्ड्रेनका शिक्षा व्यवस्थापक आत्मराम भट्टराईले शिक्षाका गुणात्मक वृद्धि, कर्णालीका शिक्षाका मुद्दाहरुका बारेमा आफ्नो प्रस्तुति राख्नुभएको थियो । उक्त कार्यक्रममा ‘कर्णाली शिक्षापत्र’ बिमोचन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्