३० चैत २०७९, बिहीबार
मध्यपश्चिम विश्वविद्यालयले विद्यावारिधी तथा महाविद्यावारिधी गरेका २५ विज्ञ प्राज्ञका लागि विज्ञापन गरेको छ । विश्वविद्यालयले आज वीरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलन गरी प्राज्ञ नियुक्तिकाे विज्ञापन प्रकाशनका साथै संस्थागत नमूना तथा सम्वन्धन सम्बन्धी कार्यविधि २०७९ को बारेमा जानकारी गराएको हो ।
सम्मेलनमा बोल्दै विश्वविद्यालयका रजिष्ट्रार प्राडा.नारायणप्रसाद पौडेलले विज्ञापनमार्फत उनीहरुको नियुक्ति लागि विज्ञापनकाे सूचना गरिएको बताउनुभयो । उहाँले २५ जना विज्ञ प्राज्ञहरुको नियुुक्ति विशेष प्रकृतिको करार बमोजिम परियोजनामा अधारित स्रोतबाट तलब सुविधा भुक्तानी हुने भएकोले विश्वविद्यालयको नियमित सञ्चालन खर्चमा अतिरिक्त भार नपर्ने प्रष्ट्याउनुभयो ।
रजिष्ट्रार प्राडा.पौडेलले भन्नुभयो, “प्राज्ञ नियुक्तिले खर्चमा अतिरिक्त भार पर्दैन बरु उल्टै अनुसन्धान परामर्शलगायतका क्रियाकलापबाट अतिरिक्त आयआर्जनमा योगदान हुने प्रष्ट छ । उनीहरुद्वारा ग्र्याजुएट स्कुल अन्तरगतका प्राध्यापकज्यूहरुको अनुसन्धान तथा कृति प्रकाशन कार्यमा थप बल पुग्न गई समग्र विद्यार्थीहरुले प्राप्त गर्ने शिक्षा, ज्ञान र सीपको गुणस्तरमा सुधान हुने आशा गर्न सकिन्छ ।”
मध्यपश्चि विश्वविद्यालयले ग्र्याजुएट स्कूल अफ म्यानेज्मेन्ट डीनको कार्यालय अन्तरगत एमफिल÷पिएचडी कार्यक्रम बिगत पाँच वर्षदेखि सञ्चालनमा ल्याएको र हालसम्म एमफिलतर्फ ५७ र पिएचडीतर्फ आठजना स्कलरहरुले अध्ययन, अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । विश्वविद्यालयका अन्य छवटा ग्र्याजुएट स्कूल अन्तरगत एमफिल÷पिएचडी कार्यक्रम हुन नसक्दा यहाँका करिब दुई सय भन्दा बढी प्राध्यापकहरुले एमफिल÷पिएचडी को अध्ययन अनुसन्धानको अवसरबाट बञ्चित हुने अवस्थालाई मध्यनजर गरी गरिएको विज्ञापनबाट अध्ययन तथा अनुसन्धानका क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने रजिष्ट्रार पौडेलको भनाई थियो ।
उहाँका अनुसार विश्वविद्यालयको सम्वन्धन सम्बन्धी व्यवस्थाले देशका विभिन्न भू–भाग र विशेषगरी कर्णाली प्रदेशमा विभिन्न विषयहरुमा अध्ययन गराउन ईच्छुक सामुदायिक, नीजि तथा सहकारीमा आधारित संघ÷संस्थाहरुलाई भिन्न भिन्न विषयका कार्यक्रमहरु सञ्चालन गरी देशभरिका विद्यार्थीहरुको उच्च शिक्षा अध्ययन गर्ने अवस्था सिर्जना हुने र त्यसले राष्ट्रको योगदान पुर्याउने उद्देश्य राख्दछ । विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालनले विद्यार्थी संख्या बढ्ने र त्यसले यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापनमा स्तरवृद्धि हुने जनाइएको छ ।