OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १२, २०७७सुर्खेत
१३२९ पटक

कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्व र प्रदेश प्राप्तिको आन्दोलनका घाइते तथा अपाङ्ता भएका व्यक्तिहरुलाई निःशुल्क उपचार गर्ने भएको छ। प्रदेश सरकारले कर्णाली प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चिकित्सा विज्ञान राष्ट्रिय वीर अस्पताल काठमाडौं र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमार्फत घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क उपचार गर्नेछ। यसका लागि एक करोड ५० लाख रुपैयाँ सम्वन्धित अस्पताललाई अख्तियारी दिइएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले द्वन्द्वपीडित घाइते अपाङ्ग उपचार राहत खर्च कार्यविधि, २०७७ को परिधिभित्र रहेर खर्च गर्ने गरी सम्वन्धीत अस्पताललाई आर्थिक अख्तियारी दिइएको बताए। २०५२ फागुन १ गतेदेखि २०६३ मंसिर ५ गतेसम्म राज्य र तत्कालिन विद्रोही नेकपा (माओवादी)बीच भएको सशस्त्र द्वन्द्व र कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा घाइते तथा अपाङ्गता भएका व्यक्ति र उनका परिवार लाभान्विन हुने मन्त्री भण्डारीले जानकारी दिए।

प्रदेश सरकारले द्वन्द्वपीडित र प्रदेश प्राप्तिको आन्दोलनमा घाइते तथा अपाङ्गता भएकाहरुका लागि निःशुल्क उपचारका लागि प्रदेश अस्पताललाई २५ लाख, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई २५ लाख, वीर अस्पताल काठमाडौंलाई ५० लाख र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरलाई ५० लाख रुपैयाँको अख्तियारी दिएको छ।

उपचार सुविधा कर्णाली प्रदेशभित्र स्थायी बसोबास भई सशस्त्र द्वन्द्व वा प्रदेश प्राप्तिको आन्दोलनमा घाइते वा अपाङ्गता भएका व्यक्तिले उल्लेखित अस्पतालहरुबाट पाउने छन्। निःशुल्क उपचारका लागि घाइते वा अपाङ्गता व्यक्तिले विवरण खुल्ने कागजात, परिचयपत्र वा नेपाल सरकारले दिएको कुनै आधिकारिक कागजात पेश गर्नुपर्ने छ। कार्यविधिमा विरामी अस्पताल बस्नुपर्ने भएमा उपचारको अवधिसम्म खाना तथा बास खर्च अस्पतालले कोषमार्फत व्यहोर्ने गरी खर्चिनुपर्ने उल्लेख छ। अस्पतालले घाइते वा अपाङ्गता भएका व्यक्तिहरुलाई उपचारका लागि आवत–जावत गर्दा लाग्ने खर्च पनि उपलब्ध गराउनुपर्ने कार्यविधिमा उल्लेख छ।

कुरुवालाई भत्ता 

प्रदेश सरकारले सशस्त्र द्वन्द्व र प्रदेश प्राप्तिको आन्दोलनका क्रममा घाइते भएका र अपाङ्गता भएका व्यक्तिहरुको उपचारमा सहयोग पुर्‍याउने तथा अस्पताल भर्ना हुँदाका बखत कुरुवा बस्नेहरुका लागि पनि भत्ता र यातायात सुविधाको व्यवस्था गरेको छ। ‘घाइते वा अपाङ्गता भएका व्यक्तिको उपचारको क्रममा आवत–जावत लाग्ने नियमानुसारको यातायात खर्च र निजको सहयोगी वा कुरुवालाईसमेत आवत–जावतवापतको खर्च खर्च उपलब्ध गराइने छ,’ कार्यविधिमा भनिएको छ, ‘विरामीको कुरुवालाई १२ सयका दरले आवास र खाजा खर्चवापतको रकम उपलब्ध गराउनुपर्ने छ।

नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्