OnlinePana

आज : २०८२ चैत्र २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र २२, २०८२
७ पटक

२२ चैत २०८२, आइतबार

सुर्खेतः कर्णालीमा राज्यको प्रवाह हुने सेवा र अवसर समान नभएको सरोकारवालाहरु बताएका छन् ।

गैर सरकारी संस्था महासंघ कर्णाली प्रदेश सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘असमानता न्यूनीकरणका उपायसम्बन्धीको प्रदेशस्तरीय छलफल’मा बताइएको हो । छलफलमा कर्णालीका ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक अझै पनि आधारभूत सेवा र अवसरबाट वञ्चित रहेको, शिक्षा र स्वास्थ्य सेवामा गुणस्तरको असमानता कायम रहेको तथा डिजिटल पहुँचमा समेत समस्या रहेको निष्कर्ष निकालिएको गैर सरकारी संस्था महासंघका केन्द्रीय कोषाध्यक्ष गोविन्द शाहीले जानकारी दिनुभयो ।

छलफलमा जलवायु परिवर्तनका कारण विपन्न समुदाय झन् बढी प्रभावित भइरहेको र सन्तुलित विकास हुन नसक्दा बसाइँसराईले सामाजिक संरचनामा असर पारिरहेकोले ती असमानतालाई न्यूनकीरण गर्ने उपायबारे छलफल गरिएको उहाँले बताउनुभयो । कोषाध्यक्ष शाहीका अनुसार राष्ट्रिय असमानता प्रतिवेदनसम्बन्धी पनि परामर्श तथा छलफल गरिएको छ ।

गैसस महासंघ कर्णाली प्रदेशका अध्यक्ष घनश्याम केसीले कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाबीच देशभित्रको बढ्दो असमानता र त्यसका समाधानका उपायबारे छलफल तथा परामर्श गरिएको बताउनुभयो । उहाँका अनुसार आय, सम्पत्ति तथा खर्च, शिक्षा, राजनीतिक सहभागिता, जलवायु परिवर्तन, बसाइँसराइ, सामाजिक सुरक्षा, स्वास्थ्य तथा स्थानीय र डिजिटल पहुँच जस्ता विषयमा देखिएको असमानताका विषयमा चार समुह बनाएर सहभागीहरु बीच समूहगत छलफल गरिएको थियो ।

प्रत्येक समुहमा पहुँच, समानता, गुणस्तर, र अवसरका आधारमा वर्तमान अवस्था, चुनौतीका विषयमा विश्लेषण प्रस्तुत गरिएको थियो । छलफलमा असमानता न्यूनीकरणका लागि समावेशी नीति, लक्षित कार्यक्रम, प्रभावकारी कार्यान्वयन र स्थानीय तहसम्म पहुँच विस्तारलगायतका सवालमा सहभागीहरुबाट आएका सुझावहरुलाई समेटेर आगामी नीति तथा योजना निर्माणमा समावेश गरिने आयोजक संस्थाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्