OnlinePana

आज : २०८३ बैशाख १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २८, २०८२
११६ पटक

२८ फागुन २०८२, बिहीबार

सुर्खेतः जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सकेपनि थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सहयोग लिएर काम थालेको छ ।

घटनाको सूक्ष्म अध्ययनका लागि प्रहरी निरीक्षक कमाण्डको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल प्रहरी प्रदेश कार्यालय, नेपालगञ्जबाट पोलिग्राफी सहितको विज्ञको टोली सुर्खेत आइपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिप्रका सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले घटनाको सत्यतथ्य पत्ता लगाउन प्राविधिक र वैज्ञानिक दुवै विधि अवलम्बन गरिएको बताउनुभयो ।

प्रहरी उपरीक्षक शाहीले भन्नुभयो, “सिआईबी सुर्खेत पुगेर अनुसन्धान थालेको छ । पोष्टमार्टम रिपोर्ट अनुसन्धानको पाटोमा प्रहरी सक्रिय र गम्भीर भएर लागेर प्रारम्भिक अनुसन्धान भइसकेको छ । धेरै रिपोर्टहरु आइसकेको छ । मोबाईल पनि डिजिटल फोरेन्सिक ल्याबमा मोबाइल पठाइसकिएको छ । संदिग्ध र पीडितका दुवैको मोबाइललगायतका विद्युतीय सामग्री र घटनास्थलबाट सङ्कलित प्रमाणहरू थप परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइएको छ ।”

केन्द्रीय विधि विज्ञान प्रयोगशालामा टक्सिलोजिकल र वायो सेरोजिलिकल परीक्षणका लागि पठाइएको बताउँदै प्रहरी उपरीक्षक शाहीले त्यो रिपोर्ट आएपछि पोष्टमार्टम र प्रयोगशालाबाट आउने रिपोर्टको तुलना गरेर एउटा निष्कर्षमा पुग्न सकिने बताउनुभयो । उहाँका अनुसार यसका लागि छुट्टै टोली जिल्ला प्रहरी कार्यालयमा गठन गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्