

१३ फागुन २०८२, बुधबार
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका कप्तान सावित्रा भण्डारी (साम्बा) को स्वास्थ्य उपचारका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतमा कार्यरत प्रहरी कर्मचारीहले आर्थिक सहयोग गरेका छन् ।
उक्त कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालसहित एक सय १७ इच्छुक प्रहरी कर्मचारीहरुले संयुक्त रुपमा कप्तान साम्बालाई रु. ५० हजार सहयोग गरेका हुन् । राष्ट्रका नाम उँचो बनाउन निर्वाध संघर्षको मैदानमा पसिना बगाउँदै आउनुभएका कप्तान साम्बाको स्वास्थ्य उपचारमा सानो भएपनि सहयोग पुगोस् भन्ने ध्येयले सहयोग गरिएको प्रहरी उपरीक्षक रिजालले बताउनुभयो । स्वेच्छिक रुपले प्रहरी कर्मचारीबाट संकलित रकम भण्डारीको व्यक्तिगत खाता रहेको कृषि विकास बैंक को खाता नम्बर ०२१०६०५४१२३०७०१३ मा जम्मा गरिएको उहाँले बताउनुभयो ।
व्यक्तिको संकटमा मानवीय संवेदना र सहकार्य आवश्यक रहेको बताउँदै प्रहरी प्रमुख एसपी रिजालले सामाजिक सद्भाव र सहयोगले समाजमा सकरात्मक प्रभाव पर्ने बताउनुभयो । प्रहरी कर्मचारीहरुले खेल क्षेत्रका एक प्रेरणादायी व्यक्तित्वप्रति ऐक्यबद्धता प्रकट गरेर उदाहरण प्रस्तुत गरेका छन् । कप्तान भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामनासहित गरिएको यो सहयोगले खेलकुद क्षेत्र र सुरक्षाकर्मीबीचको अन्तरसम्बन्धलाई प्रगाढ बनाएको छ ।


