OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २, २०७९जुम्ला,
५१४ पटक

जुम्ला भदौ २ गते । यहाँको सिंजा गाउँपालिकाले हाट बजार शुरु गरेको छ । वि.सं.१८४६ पूर्वको तत्कालीन शक्तिशाली सिंजा राज्यका बेलादेखि प्रयोग हुँदै आएको आएको ‘हाट’ शब्दले आफ्नै इतिहास बोकेको छ । दक्षिण भारत र उत्तर चीनलाई आकर्षण गर्ने गरी सिंजामा लाग्ने ‘हाट’ आर्थिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक र भू–राजनीतिक दृष्टिले पनि निकै महत्वपूर्ण मानिन्छ ।

‘हाट’ कै कारण १२ औं शताब्दीदेखि १४ औं शताब्दीसम्म सिंजा खस राज्य आर्थिकरुपमा बलियो भएको इतिहासमा पाउन सकिन्छ । उतिबेलाको ‘हाट’ आजको प्रमुख व्यापारिक केन्द्र जस्तै हो ।

यहाँको सिंजा गाउँपालिकाले त्यतिवेलाको सिंजा साम्राज्यको विरासत जगाउने र आर्थिक उत्पादन बजारीकरण गर्ने भन्दै हरेक महिनाको १ गते हाट बजार शुरु गरेको छ ।

गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले सिंजा साम्राज्य कुनैवेला उत्पादनमा बलियो मात्रै नभई उत्तर र दक्षिणको बजारको केन्द्र भएको बताउनुभयो । उहाँले अव स्थानीय उत्पादनलाई बढाउने, बजारीकरण बढाउने उद्देश्यका साथ हाटबजार सुचारु गरिएको बताउनुभयो । ्
उपाध्यक्ष सितली रोकायाले बजारमा सिंजामै बनेका राडिपाखी, तरकारी, मार्सिचामल, स्याउ, सिमी आउन थालेकोमा जोड दिनुभयो । सिंजाले हाटबजार शुरु गरेपछि आर्थिक बिषय मात्रै नभई सास्कृति बिषयमा समेत जोड दिने काम भएको छ । गाउँपालिकाको केन्द्र भएको स्थान नराकोटमा स्थानीयले दिनभर देउडा प्रतियोगिता समेत संचालन गर्ने र मनोरञ्जन गर्ने प्रयास गरिएको छ ।

स्थानीय मनप्रसाद धितालले हाटबजारले सिंजामा फेरी निकै महत्वपूर्ण बिषय उठान भएको बताउनुभयो । उहाँले अहिले शुरुवाती चरणमै स्थानीय उत्पादन बजारमा आउने र बिक्री हुने काम बढेको छ ।

भदौ १ गते आफ्नो स्थानीय उत्पादन बजारमा बिक्री गर्न ल्याउनु भएको सिंजा गाउँपालिका ३ कि रेशा रानाले हाटबजार शुरु भएपछि तरकारी कता फार्लाै र के गर्राै भन्ने हुन्थ्यो अव सजिलो हुने भएको छ ।

स्थानीय भेडाको ऊनबाट उत्पादन भएको लिउ र पाखि लिएर बजार आउनुभएका धनपति वुढाले हाटबजारले उत्पादन भएका बस्तुको बजारीकरणमा जोड दिनुभयो ।

केही मिठो चीज वा राम्रो वस्तु लिन पर्दा ‘हाट’ जान्छु भन्ने प्रचलन आज पनि कर्णालीका दूरदराजका बस्तीहरुमा कायमै छ । सिंजा उपत्यकाको उत्तरपूर्वी भागमा अवस्थित ठाँउलाई अहिले पनि ‘हाट सिंजा’ भन्छन् । अहिले त्यहाँ हाटसिंजा भन्ने गाउँ रहेको छ । जुन कनकासुन्दरी गाउँपालिकामा पर्दछ ।

यही ‘हाट’को बिरासतलाई पुनरुत्थान गर्दै सिंजा गाउँपालिका जुम्लाले साउन १ गतेबाट ‘हाट’ बजार सुरु गरेको थियो । भदौ १ गते पनि हाट बजार दोहोर्याएको छ ।

जुम्ला राज्यमाथी आक्रमण गरी गोर्खालीहरुले आफ्नो कब्जामा लिएपछिको २३३ वर्षपछि उक्त ‘हाट’ बजारको पुनःस्थापना गरिएको गाउँपालिकाको दावी छ । अध्यक्ष धितालले थप्नुभयो, “सिंजाको संस्कृतिको जगेर्ना तथा स्थानीय उत्पादनलाई बजारीकरण गर्न हामीले ‘हाट’ बजार परम्परालाई थालनी गरेका छौं । यो एउटा ऐतिहासिक र अर्थतन्त्रमा सघाउने दीर्घकालीन बजार विकासको कार्य हो । गाउँ सरकारले यसको प्रवद्र्धनमा जोड दिन्छ ।

हाटबजारमा सामान हेर्न तथा देउडा खेल्न अहिले मानिसहरु जिल्ला बाहिरबाट पनि आउन थालेका छन् ।
तत्कालीन् सिंजा खस राज्यबाट नै ‘हाट’ बजार खोलिएपछि गढवाल, पिथौरागढमा पनि समान किनबेच हुने गरेको इतिहासबारे जानकारी दिँदै उहाँले कञ्चनपुर पारी जोलजोली, गोलाघाट ‘हाट’ खोलिएको जनाउनुभयो । उहाँका अनुसार जंगबहादुर राणाको अभ्युदयपछि दाङ र कान्छो ‘हाट’का रुपमा नेपालगञ्ज खुलेकोले १९ औं शताब्दीपछिको पुस्ताले त्यही ‘हाट’मा जाने आउने गर्दै आएको थियो ।
क्याप्सन : सिंजा गाउँपालिकामा सुचारु गरेको हाट बजारमा आएका सामानहरु तस्बिर नेत्र शाही जुम्ला

प्रतिकृया दिनुहोस्