OnlinePana

आज : २०८२ साउन १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ ३१, २०८२
२२ पटक

३१ असार २०८२, मंगलबार

सुर्खेतः जिल्ला प्रहरी कार्यालय सुर्खेतले आजसम्मकै ठूलो परिमाणमा अफिम र नक्कली नोट (खोटा मुद्रा) बरामद गरेको छ । बरामद गरिएको अफिम र नक्कली नोटसहित पक्राउ परेका पाँच जनालाई आज सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा पत्रकार भेटघाट कार्यक्रममार्फत सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका १० सुर्खेत शान्ति टोल सुर्खेतमा कोठा भाडामा बस्दै आएकी कुशे गाउँपालिका ५ जाजरकोटका २२ वर्षीय दिलमाया सिंह ठकुरी, उनका दाजु ३३ वर्षीय रामबहादुर सिंह, भेरीगंगा नगरपालिका १२ सुर्खेत ठकुरीटोल बस्दै आएका कुसे गाउँपालिकाको वडा नं.७ गमौडीका ३५ वर्षीय कृष्णबहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिनुभयो ।

त्यसैगरी, पक्राउ पर्नेमा भेरीगंगा नगरपालिका १२ सुर्खेत बस्ने ३८ वर्षीय प्रेमबहादुर विक र नरहरिनाथ गाउँपालिका ४ कालीकोट स्थायी घर भई हाल बाँके कोहलपुर नगरपालिका ११ न्यूरोडस्थित जनगर्जन मिडिया प्रालि.नामक मिडिया सञ्चालन गर्दै आएका मनबहादुर सहकारीसमेत रहेको उहाँले बताउनुभयो ।

प्रहरी उपरीक्षक शाहीका अनुसार उनीहरुबाट सुर्खेत प्रहरीले रु.१३ लाख नक्कली नोट र करिब रु.९० लाख बराबरको अफिम बरामद भएको छ । त्यससँगै क्यानन प्रिन्टर, हाइटेक लेखिएको सिपियु, जिलियन टेक लेखिएको मोनिटर, कि–बोर्ड, माउस, कार्डडिटर, चिप्स मेमोरी र क्यानन क्यामेरासमेत एक÷एक थान फेला पारी बरामद गरिएको उहाँले जनाउनुभयो ।

पक्राउ परेकाहरुमाथि लागुऔषध तथा जाली नोट कारोबार उद्योगमा मुद्दा चलाउने तयारी भइरहेको बताउँदै प्रहरी उपरीक्षक शाहले प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेकाहरुले करिब रु.दुई लाख सक्कली नोटसँग नक्कली नोट साटिसकेकाले लेनदेन गर्दा सचेत रहन सबैलाई आग्रह गर्नुभएको छ ।

उहाँका अनुसार अफिम खरिदका लागि ती नक्कली नोटहरु प्रायः सुर्खेत, जाजरकोटका व्यापारीहरुलाई दिएको आरोपितहरुले बताएका छन् । पछिल्लो समय सुर्खेत प्रहरीले लागुऔषध नियन्त्रणको अभियानलाई आक्रमक बनाउँदै लगेको छ ।

प्रतिकृया दिनुहोस्