

१ असार २०८२, आईतबार
कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले लोक सेवा आयोगप्रति नागरिक विश्वास प्रबल बन्दै गएको बताउनुभएको छ ।
लोक सेवा आयोग सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘हिरक जयन्ती’को उद्घाटन समारोहमा बोल्नु हुँदै प्रमुख सचिव यादवले भनसुन नचल्ने आयोग भनेकै लोक सेवा भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “आयोगले कुनै पक्षपात नगरी स्वच्छ र पारदर्शी ढंगबाट योग्य र दक्ष नागरिकलाई राष्ट्रसेवकका रुपमा सिफारिस गर्दै आएको मात्र छैन, आफ्नो विरासतलाई कायम गर्दै आएको छ ।”
प्रदेश लोक सेवा कर्णाली प्रदेशका सचिव पूर्णमान श्रेष्ठले लोक सेवा आयोगको आधार, सिद्धान्त र मापदण्ड अनुसार प्रदेश लोक सेवा आयोग गठन भएको र प्रदेशमै आयोग हुँदा नागरिकहरुको सहज पहुँचले आयोगप्रतिको आकर्षणमा वृद्धि भएको बताउनुभयो । अहिले पनि तीन हजार छ सय ६० सीटमा चार लाख उम्मेदवारले दरखास्त दिएको र यसले वैदेसिक रोजगारीमा जाने युवालाई रोकेको दावी उहाँले गर्नुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका कार्यालय प्रमुख रामकृष्ण पुडासैनीले आयोगले नेपाल सरकारलाई योग्य र दक्ष जनशक्ति उपलब्ध गराउँदै आएको बाउनुभयो । आयोगले आफ्नो स्थापना कालदेखि कार्यसम्पादन कुशलतापूर्वक निभाउँदै आएको उहाँको भनाई थियो ।
‘हिरक जयन्ती’को अवसरमा विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा जन नमूना मावि, एसओएस हर्मन माईनर, सैनिक आवासीय विद्यालय, मोडेल एकाडेमी र श्रीसंस्कृत मावि ईत्राम सुर्खेत सहभागी रहेका थिए । सहभागी विद्यालयहरुमा जन नमूना मावि प्रथम, एसओएस द्वितिय र सैनिक आवासीय विद्यालय तृतीय भएका थिए । प्रथम, द्वितिय र तृतीयलाई क्रमशः रु.पाँच, तीन र दुई हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।