२० वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय भएको छ ।
बामेदव गौतमलाई कोरोना महामारी सकिएपछि प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेपछि नेकपा सचिवालयको पहिलो बैठक बसेको थियो । र, आफ्नो सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले सरकार र पार्टी सञ्चालनमा भएको कमी कमजोरीप्रति आत्मालोचना गरेका हुन् ।
अर्का अध्यक्ष पुष्पकमदल दाहाल प्रचण्ड र अरु नेताहरुले पनि आत्मालोचित भएर अगाडि बढ्ने नेकपाको निर्णय छ ।
बामदेवलाई संसदमा ल्याउने निर्णय
नेकपा सचिवालयको बैठकले उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय समेत गरेको छ ।
उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने भनिएको छ । पार्टी नेताले जितेको कुनै एक सिट खाली गराएर उपचुनाव गराउने नेकपाको तयारी छ । बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘प्रतिनिधिसभाको उम्मेदवार बनाएर उहाँलाई प्रतिनिधिसभामा ल्याउन पहल गर्ने निर्णयभित्र स्वभाविक रुपमा त्यो अन्तरनिहीत छ । उहाँ प्रतिनिधिसभाको सदस्य भएर आउनु भएपछि प्रधानमन्त्री बन्ने सम्भावनाको ढोका खुल्छ ।’
बैठकले पार्टीलाई फुट उन्मुख गराउने कुनै पनि क्रियाकलापमा सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशन समेत दिएको छ भने २५ गते स्थायी कमिटीको बैठक बोलाएको छ ।