OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीजेठ १४, २०७८सुर्खेत 
१०७३ पटक

१४ जेठ २०७८ शुक्रबार

नयाँ भेरियन्टसहितको नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जित्ने संक्रमितहरुको संख्या पछिल्लो केही दिनयता कर्णाली प्रदेशमा बढ्न थालेको छ । दिनप्रति दिन कोरोना जितेर घर फर्कनेको संख्या बढ्न थालेपछि यो रोगबाट बच्न सकिने विश्वास नागरिकहरुमा पलाएको छ । कोरोना जित्न हरेकमा आत्मबलको खाँचो रहेको र त्यसो गर्न सके कोरोना रोग सजिलै जित्न सकिदो रहेछ भन्ने विश्वास कर्णालीवासीमा बढ्दै गएको छ ।

जस अनुसार कर्णालीमा पछिल्लो २४ घण्टामा ५६१ जना कोरोना भाइरस संक्रमितहरु निको भएर घर फर्केका छन् । अहिले संक्रमितको संख्या भन्दा कोरोना जितेर घर फर्कनेको संख्या दोब्बरले वृद्धि भएको छ । कर्णालीमा आज २४५ जनाको आरटी पीसीआर परीक्षणमा १०२ र ५७१ जनाको एन्टिजेन परीक्षणमा १७३ गरी कूल २७५ जनामा नयाँ संक्रमिण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा.रविन खड्काले जानकारी दिनुभयो ।

खासगरी कर्णाली प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी अस्पताल रुकुमपश्चिम, जिल्ला अस्पताल दैलेख गरेर हालसम्म एक लाख १४ हजार १५३ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएको संख्यामा १६ हजार ७१३ जनामा संक्रमण पुष्टि भएकोमा १५ हजार १७९ जना (९१ प्रतिशत) निको भएर घर फर्किसकेको निर्देशक डा.खड्काले बताउनुभयो ।

कोरोना संक्रमणका कारण कर्णालीमा पछिल्लो २४ घण्टामा सुर्खेतका एक जनाको मात्र मृत्यु भएको छ । हाल पाँच हजार ९०५ जना आइसोलेशनमा रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । पछिल्लो एक सातादेखि संक्रमितहरुको मृत्युदरमा कमि हुँदै गएकोले केही समयपछि संक्रमितको संख्या र मृत्युदरमा कमि आउने कर्णाली प्रदेश अस्पताल सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्