OnlinePana

आज : २०८२ चैत्र २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र २३, २०८२
२६ पटक

२३ चैत २०८२, सोमबार

सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको विकासका लागि नीजि क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित नवौं प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीमा लगानीका प्रशस्त सम्भावना भएपनि अपेक्षित रुपमा निजी क्षेत्रको संलग्नता हुन नसकेको बताउनुभयो । कर्णाली कृषि, पर्यटन जलस्रोतको धनी प्रदेश भएको भन्दै उहाँले ती क्षेत्रलाई आधार बनाएर आर्थिक विकासको ढोका खोल्न सकिने तर्क गर्नुभयो ।

“कर्णालीमा अवसर धेरै छन्, तर ती अवसरलाई पहिचान गरेर लगानी गर्न आवश्यक छ,” उहाँले भन्नुभयो, “नीजि क्षेत्रले जोखिम लिन सके प्रदेशको आर्थिक समृद्धि सम्भव छ । यद्यपि परम्परागत रुपमा तयारी वस्तु बेच्ने प्रवृत्तिबाट बाहिर निस्केर उत्पादनमुखी अर्थतन्त्रतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुपर्दछ ।”

कर्णालीले उत्पादन बढाउन सके मात्रै आत्मनिर्भर बन्न सकिने बताँउँदै मुख्यमन्त्री कँडेलले कृषि, जडीबुटी, जलविद्युत र पर्यटनमा ठूलो सम्भावना भएको यसमा निजी क्षेत्रले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । सरकार लगानीमैत्री वातावरण निर्माण गर्न र निजी क्षेत्रलाई आवश्यक सहजीकरण गर्न तयार रहेको उहाँको भनाई थियो ।

मुख्यमन्त्री कँडेलका अनुसार लगानीकर्तालाई प्रोत्साहन, नीतिगत सुधार तथा आवश्यक पूर्वाधार विकासमा सरकार लागिपरेको छ । सरकारी अनुदानको दुरुपयोग हुने प्रवृत्तिप्रति चिन्ता प्रकट गर्दै उहाँले अनुदान पाउँदा मात्र काम गर्ने र पछि छोड्ने गलत अभ्यास अन्त्य गर्नुपर्ने टिप्पणी गर्नुभयो ।

“सरकारी रकमको सदुपयोग हुनुपर्छ,” उहाँले भन्नुभयो, “काम सकिएपछि छोड्ने होइन, त्यसलाई निरन्तरता दिने दीर्घकालीन सोचका साथ परियोजना सञ्चालन गर्नुपर्छ ।” मुख्यमन्त्री कँडेलले विकासका लागि सरकार, निजी क्षेत्र र नागरिकबीच सहकार्य आवश्यक रहेको जनाउँदै विकास एक्लैले सम्भव नहुने भएकोले सबै क्षेत्रको सहकार्यबाट कर्णालीलाई समृद्ध बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस्