OnlinePana

आज : २०८३ आषाढ १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १९, २०८३काठमाडौं
१२ पटक

१९ असार २०८३, शुक्रबार

सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले दैलेखको चामुण्डा विद्रासैन्नीस्थित कर्णाली राजमार्गबाट बिहीबार नदीमा खसेर बेपत्ता भएको गाडी तथा यात्रुको हेलिकोप्टरबाट खोजी गर्न निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री कँडेलले आज कर्णाली प्रदेशमा रहेका चारवटै सुरक्षा निकायका प्रमुखसँग दुर्घटनापछि भइरहेको खोजी तथा उद्धार कार्यबारे जानकारी लिँदै उपलब्ध सबै साधन–स्रोत परिचालन गर्ने गरी खोजी कार्यलाई तीव्र बनाउन आग्रह गर्नुभएको हो । छलफलमा उहाँले अहिलेसम्म सुरक्षा निकायहरुबाट खोजी तथा उद्वार कार्यमा भइरहेको कामको प्रशंसा गर्दै आवश्यकता अनुसार हेलिकोप्टरबाट परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले दैलेखदेखि भारतको सीमासम्म खोजीको दायरा विस्तार गर्न समेत निर्देशन दिनुभयो । छलफल कार्यक्रममा शसस्त्र प्रहरी बल नेपाल नं.६ बाहिनी मुख्यायलय सुर्खेतका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णराज पाठकले घटनास्थलमा गोताखोर परिचालन गरिएको र थप जनशक्ति कुरिनटारबाट हिडिसकेको जानकारी दिनुभयो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुखेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जल सतह बढेको, धमिलो पानी तथा भौगोलिक कठिनाइका कारण खोजी कार्यमा चुनौती थपिएको बताउनुभयो । सबै सुरक्षा निकायको सामुहिक प्रयासबाट उपलब्ध सम्पूर्ण जनशक्ति र स्रोत–साधन परिचालन गरी खोजी जारी राखिएको उहाँको भनाई थियो । उहाँका अनुसार नेपाली सेनासमेत खोजी कार्यमा परिचालन भएको र ड्रोन क्यामेराबाट सम्भावित स्थानहरुमा खोजी सुरु भएको छ ।

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी बिहीबार ११ः३० बजे सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेर बेपत्ता भएको छ । दुर्घटनापछि अचेत अवस्थामा भीरमा अड्केका पचालझरना गाउँपालिका ९ कालीकोटका ५४ वर्षीय जेखे तिरुवालाई उद्धार गरी उपचारका लागि अस्पताल लिँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीमा सवार एकीन नभएका अन्य यात्रुहरुको अवस्था अज्ञात रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्