
१८ असार २०८३, बिहीबार
सुर्खेतः कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको १९औं बैठक आज पनि चल्न नसकेर पुनः स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)सहित राप्रपालगायतका दलका प्रदेशसभा सदस्यहरुको अवरोधपछि बैठक स्थगित भएको हो । सभा सञ्चालनको आकस्मिक समयमै बोल्दै प्रदेशसभा सदस्य सन्तोषी शाहीले आव.२०७६÷०७७ साउन १ गते खाडाँचक्र नगरपालिकाका कालीकोटका दुई छोरीको बैक खाता जम्मा गरी लागु भएको ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरिको’ जस्तो कर्णालीका छोरीहरुको हिंसा अन्त्य गर्ने, उच्च शिक्षा अध्ययनमा सघाउने र आर्थिक सुरक्षा तथा सामाजिक न्याय हुने जनपक्षीय कार्यक्रम अलपत्र पारेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
आव.२०७६÷०७७ मा रु.तीन करोड ८४ लाख र २०७७÷०७८ मा रु.छ करोड स्थानीय तहमार्फत ११ हजार ४१५ छोरीहरुको बैंक खातामा करोडौं रकम जम्मा भइसकेको तथा उनीहरुको भविश्यसँग प्रत्यक्ष जोडिएको कार्यक्रमलाई निरन्तरता नदिनुको वास्तविक आधार र कारण के हो ? भन्दै उहाँले सरकारलाई प्रश्न गर्नुभयो ।
कार्यक्रम अचानक बन्द हुँदा बैकमा मौज्दात राज्यको करोडौंको पैसा तथा लाभग्रही छोरीहरुको हक र अधिकारको संरक्षण तथा व्यवस्थाको जिम्मेवारी कसले वहन गर्छ ? बैंक खाता छोरीको कार्यक्रम कार्यान्वयनको खाका तयार नभएसम्म सभा अगाडि बढ्न नसक्ने भन्दै उहाँले सरकारसँग जवाफ माग गरेपछि प्रतिपक्षी दलका सबै सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए ।
बैठक अवरुद्ध भएपनि सभामुख नन्दा गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाहलाई कणाली प्रदेश आर्थिक विधेयक २०८३ मा विचार गरियोस भनि कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम १४८ को उपनियम १ बमोजिम सभासमक्ष प्रस्ताव राख्न अनुमति दिनुभयो । कार्यसूची अनुसार उहाँले सभाको कारवाही अगाडि बढाएपछि प्रतिपक्षी दलका सभा सदस्यहरुले आर्थिकमन्त्री शाहलाई रोष्टमा जान नदिएर वेल घेराउ गरेका थिए । तत्पश्चात् सभामुख गुरुङले आधा घण्टाका लागि भन्दै बैठक स्थगित भएको जानकारी दिनुभयो ।


