नेत्र शाही/ जुम्ला ।
असार १८ गते । जुम्लामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
हिमा गाउँपालिका–२ स्थित छोटाखर्सु लेकमा एनसेल टावर नजिकै साँझ साढे ५ बजे चट्याङ पर्दा ओदी गाउँका १८ वर्षीय रबिन्द्र रावतको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार चट्याङ लागेर २३ वर्षीय बल रोकाया र ४० वर्षीय जगत रोकाया सामान्य घाइते हुनु भएकाे छ ।
सोही घटनामा स्थानीयका १२ देखि १५ वटा भेडा समेत मरेका छन्। स्थानीय युवा धिरेन्द्र बहादुर रोकायाका अनुसार घटनालगत्तै पीडितलाई राहत उपलब्ध गराउन स्थानीय प्रशासन र हिमा गाउँपालिकालाई अपिल गरिएको छ। डीएसपी दाहालले पशुचौपाया क्षतिको यकिन विवरण संकलन गर्न प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको जानकारी दिनुभयाे ।
यसैगरी, जुम्लाको चन्दननाथ नगरपालिका-१० बोहोरागाउँस्थित सिद्धि गणेश सामुदायिक वनमा बुधबार अपराह्न करिब साढे ३ बजे परेको अर्को चट्याङले चरिरहेका १२ वटा खसीबाख्रा मरेका छन् ।
प्रहरीका अनुसार चट्याङ लागेर दलबहादुर कामीको एक, धनराज विकको तीन, ज्योति नेपालीको एक, गोबी सार्कीको एक र सिंह नेपालीको छ वटा खसीबाख्रा मरेका हुन् l





