OnlinePana

आज : २०८२ चैत्र २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र २४, २०८२
१३ पटक

२४ चैत २०८२, मंगलबार

सुर्खेतः सुर्खेतमा ‘महिला अटोचालकहरुसँग ट्राफिक प्रहरी’ कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममार्फत यहाँका चार दर्जन महिला अटोचालकहरुलाई ट्राफिक नियम पालनासम्बन्धी अभिमुखीकरण गरिएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको आयोजनामा सोमबार वीरेन्द्रनगरमा कार्यक्रम सम्पन्न गरिएको हो । दिनहुँ जसो बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि अपनाउनुपर्ने संवेदनशीलताका बारेमा उनीहरुलाई अभिमुखीकरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी निरीक्षक रोहित शाहीले जानकारी दिनुभयो ।

मूलतः पेशालाई मर्यादित बनाउन, उत्प्रेरणा जगाउन र जिल्ला ट्राफिक नियम पालनासम्बन्धी सचेत गराउन र उनीहरुमा भएका समस्या खुला रुपमा राख्न सक्ने माध्यम निर्माणका लागि उक्त कार्यक्रममार्फत अभिमुखीकरण गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

“चालक पेशा त्यति सजिलो छैन तर यही जोखिम क्षेत्रलाई पछिल्लो समयमा महिलाहरुले आयआर्जनको माध्यम बनाएका छन्,” उहाँले भन्नुभयो, “उहाँहरुलाई सचेतना र उत्प्रेरणा दुवै मैले आवश्यक ठाने । ट्राफिक प्रहरी र महिला अटोचालकको सम्बन्धलाई प्रगाढ बनाउन र देखिएका समस्या समाधानका निम्ति हामीले अटोचालक कल्पना सिंहलाई ट्राफिक दूत भनेर चयन गरेका छौं । उहाँले सेतुको काम गर्नुहुनेछ ।”

यता अटोचालक सिंहले प्रहरीको ठूलो मान्छेसँग बसेर अभिमुखीकरण हुने अवसर पहिलो पटक मिलेको बताउनुभयो । उहाँले खुसी व्यक्त गर्दै भन्नुभयो, “ट्राफिक प्रहरीले कारवाही मात्र होइन, उत्प्रेरणा र उत्साह पनि दिँदो रहेछ । साना तिना त्रुटिलाई माफी दिएर फेरी गल्ती नगर्न सुझाव दिनु हुँदोरहेछ । प्रहरी उपरीक्षक रिजालले अभिमुखीकरणमा दिनुभएको माया, उत्प्ररेणा र सद्भावले हामीलाई अँझ थप गर्नुपर्छ भन्ने मनग्य उत्साह मिलेको छ ।”

अभिमुखीकरणमा अटोचालक महिलाहरुले घरयासी समस्या हल गर्न र आयआर्जनबाट जीविकोपार्जन सहयोग पुगोस् भन्ने ध्येयले जोखिम पेशा रोज्नुपरेको जस्ता भोगाई, अनुभव, चुनौति, र समस्याबारे बताएका थिए ।

पछिल्लो समयमा कर्णाली प्रदेश र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सवारी दुर्घटनामा कमी ल्याउन ट्राफिक नियम, चालकको संवेदनशीलता र नागरिकले पुरा गर्नुपर्ने कर्तव्य एवं दायित्वका विषयमा अन्तररक्रिया, सचेतना, अभिमुखीकरण, गोष्ठी कार्यक्रम तथा अनुगमनलाई बढोत्तरी गर्दै लगेको छ ।

प्रतिकृया दिनुहोस्