

१३ मंसिर २०८२, शनिबार
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीद्वारा लिखित कविता संग्रह ‘शास्वत सत्य’ सार्वजनिक भएको छ ।
सुर्खेत वीरेन्द्रनगरमा एक कार्यक्रमकाबीच प्रगतिशील लेखक संघका अध्यक्ष डा.मधुसूदन घिमिरे, डा.नवराज लम्साल, ओम रिजाललगायतका साहित्यकारहरुले संयुक्तरुपमा सार्वजनिक गर्नुभएको हो । उक्त कार्यक्रममा बोल्दै संघका अध्यक्ष डा.घिमिरेले ‘शास्वत सत्य’ कविताले नेपाली साहित्यमा एउटा इट्टा थपिएको बताउनुभयो । कविता संग्रहमा मन र मस्तिष्कको सन्तुलन गर्न खोजिएको भन्दै सर्जक समाजसेवी भावनाले भरिएको उल्लेख गर्नुभयो ।
लेकख एवं सञ्चारकर्मी डा.नवराज लम्सालले राजनीति र साहित्यलाई छुट्याउन कविता संग्रह विवेकले बाँधिएको औंल्याउनुभयो । साहित्यकार ओम रिजालले कविता संग्रहले जीवनका अँध्यारा पक्षहरूलाई पछ्याउँदै उज्यालोतर्फ हुनुपर्ने सन्देश दिएको बताउनुभयो । उहाँले विद्रोही चेतका साथ मानिसको जीवनमरणका हरेक कोणहरु समेटिएको भन्दै शरीर र आत्मबीच भ्रमित रहेको टिप्पणी गर्नुभयो ।
कविता संग्रहका लेखक मन्त्री भण्डारीले आम नागरिकका रुपमा आफूले भोगेका र देखेका वास्तविकततालाई कवितामा उतारेको बताउनुभयो । कविता संग्रहमाथि समीक्षा गर्दै साहित्यकार एवं मध्यपश्चिम विश्वविद्यालय उपप्राध्यापक वासुदेव पाण्डेले ‘शास्वत सत्य’ अञ्चालिक कविता संग्रह भएको बताउनुभयो ।
कविता संग्रहमा सत्य प्रेम, अभावको पाठशाला तथा कर्णालीको गौरवमय इतिहास र संस्कृततिलाई लिपिबद्ध गरिएको भन्दै उहाँले मानव जीवनका हरेक कालखण्डहरुलाई सुन्दर रुपमा उतारिएको, नयाँ पुस्ताले हाम्रो कला र संस्कृतिलाई भुल्न थालेको वास्तविकतालाई कविले कवितामा कैद गर्न सक्नु सुखद पक्ष भएको औंल्याउनुभयो ।
विमोचन कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्का, रणसिह परियार, जुम्कित लामा, मिलन खड्का, सामाजिक विकास मन्त्रालय निमित्त सचिव जहवारलाल हमालसहित विभिन्न विधामा कलम चलाउने साहित्यकारहरुको सहभागिता रहेको थियो ।












