OnlinePana

आज : २०८२ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २३, २०७९
४८६ पटक

२३ बैशाख २०७९ शुक्रबार

शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तहको सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा विभिन्न विषयका ३४ वटा कोटा रिक्त भएका छन् ।

परीक्षामा सहभागीमध्ये एक जना पनि उत्तीर्ण नभएपछि ती कोटा रिक्त भएका हुन् । रिक्तमध्ये मधेस प्रदेशका सबैभन्दा धेरै (२९ वटा) कोटा रिक्त भएका छन् । विज्ञान र नेपाली विषयमा धेरै अनुत्तीर्ण छन् । रिक्त कोटाका लागि आयोगले अर्को परीक्षा सञ्चालन गर्नुपर्छ ।

मधेसमा नेपाली विषयमा ३२ जना शिक्षकका लागि आवेदन आह्वान गरिएकोमा २६ जना मात्रै उत्तीर्ण भए । सोही प्रदेशमा गणित विषयमा १७ जना माग गरिएकोमा १५ जना मात्रै उत्तीर्ण भए । मधेस प्रदेशमै विज्ञान विषयमा २२ जना माग गरिएकोमा सात जना मात्रै उत्तीर्ण भएको शिक्षक सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले जानकारी दिए।

अर्थशास्त्र विषयमा गण्डकी प्रदेशका लागि दुई जना माग गरिएकोमा एक जना मात्रै उत्तीर्ण भए । लुम्बिनी प्रदेशमा एक जना माग गरिएकोमा एक जना मात्रै उत्तीर्ण भए । कार्यालय सहायक तथा लेखा विषयमा मधेसमै पाँच जना माग गरिएकोमा दुई जना मात्रै पहिलो चरणको परीक्षामा उत्तीर्ण भएका छन् ।

स्वास्थ्य विषयमा मधेसमा एक जना माग गरेकोमा कोही पनि उत्तीर्ण नभएको आयोगले जनाएको छ । शुक्ल यजुर्वेद विषयमा मधेसमा एक जना मात्रै माग गरिएकोमा कोही पनि उत्तीर्ण भएनन् । गण्डकी प्रदेशमा भने यो विषयमा एक जना माग गरेकोमा एक जना मात्रै उत्तीर्ण भए ।

संस्कृत व्याकरणका लागि मधेस र बागमती प्रदेशका लागि एक÷एक जना माग गरिएकोमा कोही पनि उत्तीर्ण भएनन् । संस्कृत भाषामा प्रदेश १ का लागि एक जना र सुदूरपश्चिम प्रदेशका लागि दुई जना माग गरिएकोमा कोही पनि उत्तीर्ण नभएको मरहट्ठाले बताउनुभयो । संस्कृत साहित्यका लागि लुम्बिनी प्रदेशमा एक जना माग गरिएकोमा परीक्षामा सहभागीमध्ये कोही पनि उत्तीर्ण भएनन् ।

आयोगले सञ्चालन गरेको यो पहिलो चरणको परीक्षा मात्रै हो । दोस्रो चरणको परीक्षामा उत्तीर्ण भएर अन्तर्वार्तामा पनि सफल भएपछि मात्रै प्रतिस्पर्धी शिक्षण पेसामा प्रवेश गर्न पाउँछन् । विद्यार्थीको पढाइको जग बसाउने विद्यालय तहको शिक्षक छनोट गर्ने परीक्षामा यति धेरै कोटा रिक्त भएको आयोगको इतिहासमै पहिलो पटक हो ।

आयोगले १४ विषयका शिक्षक छनोटका लागि गत चैत १५ गते परीक्षा सञ्चालन गरेको थियो । सबै विषयका सहित कुल एक हजार ५५२ कोटाका लागि ३२ हजार ९७ जनाले परीक्षामा प्रतिस्पर्धा गरेका थिए । जसमध्ये तीन हजार ८४६ जना मात्रै उत्तीर्ण भएका थिए ।  गाेरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्