२३ कार्तिक २०७८, मंगलबार
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यातायात ब्यवस्था कार्यालय सुर्खेतको आकस्मिक अनुगमन गर्नु भएको छ
अनुगमनको क्रममा मुख्यमन्त्री शाहीले सेवाग्राहीसँग सेवा लिँदा देखिएका समस्या र समाधानको उपायका बारेमा बुझ्नुभएको थियो । सेवाग्राहीहरूले अनुसूची फारम कार्यालयले भर्न नदिएको, दलालमार्फत अनुसूची फारम भर्दा रु.१५ लाग्ने फारमलाई १०० लिने गरेको, पैसा तिर्नका लागि पनि घण्टौंसम्म लाईनमा बस्नुपर्ने बाध्यता रहेको गुनासो मुख्यमन्त्रीसमक्ष पोखेका थिए ।
सेवाग्राहीका गुनासा सुनेपश्चात् मुख्यमन्त्री शाहीले अनलाइनमार्फत शुल्क तिर्ने व्यवस्था तत्काल मिलाउन, आवश्यक जनशत्ति प्रदेश सरकारसँग माग गर्न कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो । उहाँले कार्यालय आफैले गर्न सक्ने कामहरु समेत नभएको भन्दै तत्काल सुधार र सेवाका कामहरूलाई अघि बढाउन निर्देशन दिनुभयो ।
मुख्यमन्त्री शाहीले सेवाग्राहीका गुनासा सम्बोधनका लागि सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग पनि छलफल गर्नुभएको छ । उहाँले यातायात कार्यालय बाहिर अनुसूची फारम भर्ने प्रयोजनका लागि खोलिएका अबैध पसलहरू तत्काल बन्द गर्न, सवारी साधन र पार्किङको ब्यवस्था मिलाउन निर्देशन दिनुभयो ।
मुख्यमन्त्री शाहीको निर्देशन लगत्तै जिल्ला प्रशासन कार्यालयले यातायात कार्यालय बाहिरका पसलहरु तत्काल हटाउन तथा ट्राफिक व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ ।