OnlinePana

आज : २०८१ बैशाख २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १०, २०८१सुर्खेत
१०८ पटक

१० बैशाख २०८१, सोमबार

खस भूमिमा पठन र लेखन संस्कृतिको विकास गर्न कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली साहित्य महोत्सव’ हुने भएको छ ।

फ्युचर नेपाल र कर्णाली रिर्डस सोसाइटीको आयोजनामा भोलि ‘कर्णाली साहित्य महोत्सव’ सञ्चालन हुने भएको हो । कर्णालीको भाषा, साहित्य र सस्कृतिको विकास गर्नुका साथै यहाँको बहुआयमिक क्षेत्र र विषयमा लेखन, प्रकाशन, विमर्श र पठन संस्कृतिको विकासका लागि सकरात्मक वातावरण निर्माण गर्ने लक्ष्य राखेर महोत्सव गर्न लागि महोत्सव आयोजक समितिका संयोजक डा.नवराज केसीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामी यहाँको भाषा, साहित्य र इतिहासमा पठन तथा लेखन संस्कृतिको विकास गर्ने, विभिन्न विधामा लेखिएका पुस्तकहरुको खोज, संकलन तथा प्रदर्शनी, सर्जक तथा लेखकहरुको पहिचान गरी उनीहरुको कृति पाठक समक्ष पुर्याउन सम्बन्ध विस्तार गर्ने, कर्णालीमा लेख्ने, प्रकाशन गर्ने र पढ्ने परिपाटीलाई प्रेरित गर्दे समग्ररुपले पठन संस्कृतिको प्रवद्र्धन गर्ने महोत्सवको उद्देश्य रहेको छ ।”

आयोजकका अनुसार कर्णाली प्रदेश प्रमुख तिलक परियारले महोत्सवको उद्घाटन गर्नुहुनेछ । वीरेन्द्रनगर नगरपालिका र सुर्खेतमा अवस्थित विद्यालयहरुसँगको समन्वय र सहकार्यमा कर्णालीमा पहिलो पटक गर्न लागिएको महोत्सवमा पाँचदेखि छ सय पुस्तकहरु प्रदर्शनी गरिने जनाइएको छ ।

महोत्सवका आयोजक तथा लेखक माधव चौलागाईका अनुसार स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातीप्राप्त साहित्यकार, सर्जक तथा लेखकहरुलाई आमन्त्रण गरिएको छ । पठन तथा लेखन संस्कृतिको विकास हुनुका साथै कर्णाली प्रदेश सरकार र स्थानीय तहको शैक्षिक योजना निर्माणमा महोत्सवबाट महत्वपूर्ण सहयोग पुग्ने बताइएको छ ।

कवियत्री एवं साहित्यकार देवकी तिमिल्सेनाले विश्व पुस्तक दिवसको अवसर पारेर हरेक वर्ष बैशाख ११ गते खस भूमि कर्णालीमा साहित्य महोत्सव सञ्चालन गरिने बताउनुभयो । आयोजकले महोत्सवबाट कर्णालीको ज्ञान परम्पराको अभिवृद्धि हुनुका साथै यसमा आधारित समाज निर्माणमा टेवा पुग्नेलगायतका अपेक्षित उपलब्धि हुने बताएको छ ।

प्रतिकृया दिनुहोस्