१८ असार २०८३, बिहीबार
दैलेख: कर्णाली राजमार्गको दैलेख सडक खण्डमा दुर्घटना भई कर्णाली नदीमा बेपत्ता यात्रुवाहक फोर्स गाडी अहिलेसम्म भेटिएको छैन ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको छ जना गोताखोर टोलीले करिब चार घण्टादेखि बेपत्ता गाडी खोजेपनि भेटाउन नसकिएको हो । जल सतह बढेको र पानी धमिलो भई गाडी नदेखिने गरी नदीमा डुब्दा अहिलेसम्म भेटाउन मुस्किल भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो ।
“म, सशस्त्र प्रहरी नायब महानिरीक्षक, कर्णाली प्रदेश ट्राफिक प्रहरी प्रमुखसहित करिब ५० जना सुरक्षाकर्मी हामी घटनास्थलमै छौं । प्रगति शून्य छ,” प्र.ना.म. सापकोटाले भन्नुभयो, “यो ठाउँमा फोन सञ्चार पनि राम्रोसँग हुन सकेको छैन । अब रात परिसक्यो । खोज उद्धारको काम रोकेर फर्केका छौं । भोलि बिहानैदेखि खोज उद्धारमा लाग्ने गरी फर्कनुको विकल्प रहेन ।”
आज बिहान ८ः०० सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी ११ः३० बजेको समयमा चामुण्डाबिन्द्रासैनी नगरपालिका ७ दैलेखको साङगेतडास्थित दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको थियो । उक्त स्थानबाट नामथर र वतन नखुलेको एकजना भीरमा अचेत अवस्था अड्केको पुरुषलाई उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवण विकका अनुसार घटनास्थलमा उद्धार सामाग्रीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसको जनशक्ति संयुक्तरुपमा खोज उद्धार कार्यमा परिचालन भएको थियो ।
सुर्खेत बसपार्कबाट बिहान ८ः०० बजेट छुट्दा पाँच जना सवार रहेको भनिएपनि गाडीमा कति जना सवार थिए भन्ने एकिन नभएको प्रहरी नायब उपरीक्षक विकले बताउनुभयो । उहाँका अनुसार गाडी ४०० मिटर तल खसी कर्णाली नदीमा डुबेको स्थान प्रहरी चौकी दैलेख पाल्तडाबाट तीन किलोमिटर उत्तरतर्फ र जिप्रका दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ रहेको छ ।


