मुग्लानको फेरो
अब सकिनै लाग्यो
रातबिरात कासे घारी काटे
चार कोशे झाडी छिरे
तेलपानीको उकालो उक्लिदै झर्दै
कर्णाली भेट्न दौडियेको भेरी तरेर
खेतै खेतको सुर्खेतमा एक रात बिश्राम लिदैछु ।
सर्प बेरिए झैँ बेरिदै
सुर्खेतबाट उकालो लाग्नु छ
ओढेको सिरक मिल्काएर
कुहिरोको कोट लगाउदै
झिसमिसेमै म हिड्नु छ
मलाई मेरो आगनमा पुग्नुछ ।
सात्सल्ली ओर्लदै
फेरी सर्प झैँ बेरिदै
बादलको बख्खु लगाएर
म अबेर रात सम्म हिड्नु छ
मलाई मेरो आगन सम्म पुग्नु छ
लालीघाट तर्नुछ
मान्म उक्लिनु छ
तातो सेराबाडामा
चिसो मुग्लानका कथा सुनाउदै
तिलाको कलकल संगीत सुन्दै
संगिनी भेट्न नाग्म आइपुग्ने
हिमाको पछेउरीको किनारै किनार
अझै उत्तर तिरको यात्रा सोझ्याउनु छ
मलाई मेरो आगनमै पुग्नुछ ।
प्रिय काठे साघु
तिमि छौ या छैनौ
तिमि भएरै म पुर्ब तर्नुछ
झमक्क साझ परेको भएपनि
मलाई आज मेरै आगनमा पुग्नु छ ।
कैलु गाइ
चुर्के बल्ल ९गोरु०
सुरी बिरालो
कक्क्क च्याखुरो
के तिमि सबै सन्चै छौ
म आइपुगे नि ,
म त मेरै आगनमा आइपुगे ।
ए सुनसरी स्याउ
मगमग धुपी
म तिम्रो पोथ्रा मुनि छु
देउ तप्प तप्प शित
म तिर्खाएको छु ।
तिम्रो प्रेमको प्याला
नचुमेको धेरै भो ,
म काकाकुल छु
म यहि प्रिय आगनमा छु ।
ए प्रिय आगन
आज तिमि छैनौ
आज मेरो बारी छैन
मलाई बिजुलीको झड्का सिकाउने
सिस्नो घारी छैन
गोठ छैन , खेत(खलियान छैन
अन्न पात छैन, बिस्कुन छैन ।
ए प्रिय मेरो आगन
म आइपुगेको छु
मन भरि माया
र , आखाभरी आशु लिएर
म तिम्रो डिलमा छु
र , तिमि मेरो दिलमा छौ ।
मनऋषि धिताल
हाल, अष्ट्रेलिया