OnlinePana

आज : २०८२ चैत्र २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र २०, २०८२
१२ पटक

 

२० चैत २०८२, शुक्रबार

‘चैता बारुवाँसम्म घर आएन भने जुम्ली म¥यो भुनि जान्नु’ अर्थात् (चैतको १२ गतेसम्म पनि घर पुगेन भनेर जुम्लीको मृत्यु सुनिश्चित गर्नु) । यो कर्णालीको जनजीवनमा आधारित यथार्थ र कारुणिक कथन हो । कथनी भएपनि करणीसँग मेला खाने यस भनाईले यहाँको सामाजिक र साँस्कृतिक जीवनसँग अन्तरसम्बन्ध राख्दछ ।्

खासगरी असोज कार्तिकमा धान, कोदो, फापरलगायतका बाली भण्डारण गरेर कालापहाड जाने कर्णालीवासीको जीवनशैलीसँग अन्तरसम्बन्धित कथा बोकेको ऐतिहासिक महत्वको दिन हो, चैत १२ गते अर्थात् बारुवाँ । यसलाई जुम्लाले विशेष महत्व दिएर ‘मुठो रोपेर मुरी उत्पादन’ गर्ने शुभदिनका रुपमा मनाउने गर्दछ ।

कर्णाली प्रदेश सरकारले राजपत्रमै प्रकाशन गरेर विसं.२०७६ चैतको १२ गतेलाई जुम्लाको धान दिवस मनाउने गरी सार्वजनिक विदा दिँदै आएको छ । त्यही अनुसार धान दिवसका रुपमा जुम्लालाई चैत १२ गते सार्वजनिक विदा दिईन्छ । यही दिनबाट धानको बीउ उमार्न कृषकहरुले चार÷चार दिनको फरक पारेर बेर्नामा छर्ने बीउ तयार पार्दछन् ।

कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यका अनुसार जुम्लाले चैत महिनालाई ‘बारुवाँ (१२ गते), सोरुवाँ (१६ गते) र बिसुँवा (२० गते)’ पर्वका रुपमा मनाउँछ । १२ गते नदी वा खोला किनारको पानीमा धान भिजाउने, १६ त्यहाँबाट निकाल्ने र २० गते आलीमा बीउ छर्ने दिन सामाजिक तथा साँस्कृतिक दृष्टिले सम्पन्न मानिन्छ । यो पर्व अहिले पनि विद्यामान छ र नागरिकहरुले यसलाई निरन्तरता दिइरहेका छन् ।

जानकार आचार्यले खासगरी आज जुम्ली किसानहरुले वर्षभरि लगाउने सबै खेतबारीमा रोप्न मिल्ने आँकलन गरी त्यही परिमाणमा कालीमार्सी धान केलाएर पुष्ट धानलाई भाँगो वा अल्लाबाट बनेको बोरोमा हालेर नजिकैको नदी वा खोलामा भिजाउँने परम्परा रहेको बताउनुभयो ।

बारुवाँमा भिजाईएको धानलाई चार दिनपछि सोरुवाँ (चैत १६) गतेका दिन पानीबाट उतारेर घरमा ल्याउँछन् । भिजाईएको धानलाई घरको चूल्होसँग जोडिएको मैडो(समथर ठाउँ)मा राख्छन् । सल्लाको झुप्रा वा भोजपत्रले त्यसलाई ढाकेर न्यानो बनाउँछन् । त्यही दिनमा भिजाईएको धानको चिउरा कुट्छन् र पोइलीमा गएकी छोरी बहिनीहरुलाई कोशेलीका रुपमा पठाउने गर्दछन् ।

विशेषतः बारुवाँ पर्व, चन्दननाथ बाबा र लक्षालकृति पैकलोबीच अन्तरसम्बन्ध रहेको जानकार आचार्यले बताउनुभयो । “प्रदेश सरकारले बारुवाँलाई केन्द्रित गरी जुम्लामा सार्वजनिक विदा दिएर बारुवाँ संस्कृतिको ऐतिहासिक बिरासत जोगाएको छ,” उहाँले भन्नुभयो, “बारुवाँले मार्सी धानको शुभारम्भ, यसको खोज र उत्पादनको इतिहासलाई पल्टाउँछ ।”

उहाँका अनुसार साके सम्वत् १५१५ मा विद्धान हरिदास आचार्यले लेखेको ५० श्लोकको ‘सिद्ध पञ्चाशती’ मा पनि कालीमार्सी धान जुम्लामा उत्पादन भएको ब्याख्या गरिएको छ । १५औं शताब्दीतिर चन्दननाथ बाबाले आफ्नो अध्ययन, खोज तथा अनुसन्धान कालीमार्सी धान पत्ता लगाएको पाईन्छ । किवदन्ती अनुसार तातोपानी गाउँपालिकामा जन्मेको लक्षालकृति पैकलो (शूरबीर)ले तातोपानीकै लाक्षु जिउलोको बीचमा अवस्थित गुरु फोक्टो (गह्रो)बाट कालीमार्सी धानखेती शुरुवात गरेको इतिहासमा उल्लेख भएको उहाँको भनाई छ ।

को हुन् लक्षालकृति पैकेलो ?

किंवदन्ती अनुसार लक्षालकृति पैकेलो चन्दननाथ बाबाको आज्ञाकारी चेलो थिए । यद्यपि तातोपानी गोप्थडा गाउँनिवासी सन्तानविहिन बुँदे बुढा वनमा निगाला लिन जाँदा रोईरहेका बालक भेटाएपछि घरमा ल्याएर धर्म छोरो बनाएका थिए । उनले दानुवा दह नजिकको दानसाँघु भिट्टो (डाँडो), हालको जुम्ला सदरमुकामको यावा दहसँग जोडिएको खलाचौर भिट्टो र लामी रहसँग जोडिएको बाँजाराउला भिट्टो काटेर जुम्लामा मानव बस्ती बसाल्नुका साथै धानखेती शुरु गरेका थिए भन्ने छ ।

इतिहासकारहरुलाई उद्रित गर्दै आचार्यले लक्षालकृति एक असाधारण, शक्तिशाली, पराक्रमी एवं परिश्रमी व्यक्ति भएको र उनले गरेको मार्सी धान खेतीपछि साविकका कर्णालीका अन्य जिल्लामा पनि फैलिएको बताउनुभयो । लक्षालकृति पैकलोले धानखेती शुरु गरेको गुरु फोक्टो रहेको जिउलोको नाम लाक्षु रहेकोले जुम्लाका चौधबीस, असी, सिञ्जा दरा (भेक) बाहेक पाँचसय दरामा कालीमार्सी धान उब्जनी गर्न थालिएको उहाँको भनाई थियो ।

तातोपानी गाउँपालिकाका पूर्वअध्यक्ष नवराज न्यौपानेले सामाजिकसहित साँस्कृतिक बिरासत बोकेको बारुवाँ (चैत १२) ले कर्णालीको आत्मनिर्भरतालाई समेत जोड दिँदै आएको बताउनुभयो । आत्मनिर्भर एवं स्वाभिमानी जीवन जीउन, मेहनत, परिश्रम गरेर खाने संस्कारलाई बढावा दिनुका साथै बेला चुकाउनेले अन्तमा गएर चुकचुकाउने (पश्चाताप) गर्ने सिवाय केही गर्न सक्दैन भन्ने अर्थपूर्ण सन्देश पनि नागरिकमा प्रवाह गर्दै आएको उहाँले जनाउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो खेती प्रणाली र पर्यावरण बचाउन हामीले मान्दै आएका संस्कृतिले ठूलो सहयोग पु¥याउँदै आएका छन् । यद्यपि आधुनिकताको तीव्र विकासले मौलिक संस्कृतिहरु लोप मात्र होइन, हामी नागरिकमा परनिर्भरता बढ्दै गएको छ ।” ब्यूटाकलरको प्रयोगपछि त्यसको असर सहन नसकेको कालीमार्सी पछिल्लो समयमा लोपोन्मुख अवस्थामा पुगेकोले नागरिकमा चिन्ता बढेको उहाँले बताउनुभयो ।

नेपाल कृषि अनुसन्धान केन्द्रले पुरानो र नयाँ प्रविधिको संयोजनबाट कालीमार्सीको साख बचाउनुपर्ने र सबै तहका सरकारहरुको संलग्नतामा यसको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन हुनुपर्ने पूर्वअध्यक्ष न्यौपानेले सुझाउनुभयो । उहाँका अनुसार कालीमार्सीको संरक्षणसँगै यहाँका रैथानेबालीहरु कोदो, सिमी, फापर, चिनो, कागुनो, मार्से र उवाको संरक्षण तथा प्रवद्र्धनमा सहयोग पुग्न सक्छ ।

बारुवाँ, सोरुवाँ, बिसुवाँ र सामाजिक जीवन

बारुवाँ र सामाजिक जीवनको आफ्नै अन्तरसम्बन्ध छ । बारुवा पर्व मात्र नभई कर्णालीको समग्र खेती प्रणाली, यहाँका मान्ठ (नागरिक)हरुको दिनचर्यालाई यथार्थरुपमा चित्रण गर्ने सामाजिक एवं मौलिक महत्वको दिन हो ।

यसको सामाजिक तथा साँस्कृतिक महत्वले जुम्लाईतरको इतिहास र वर्तमान अवस्थाको तुलनात्मक ढंगबाट अध्ययन एवं अनुसन्धान गर्न मुखरित गर्दछ । बारुवाँले जुम्ली घर आउने कुरासँग मात्र सम्बन्ध राख्दैन । उनीहरुको चालचलन, भेषभूषा, रितिरिवाज, संस्कार, जीवनशैली र उतिबेलादेखि आजसम्मको कर्णालीको वास्तविकता सरल तवरबाट कोट्याउन उत्प्रेरित गर्दछ ।

जुम्लीको छ महिनाको कहाली लाग्दो कालापहाड यात्रा, त्यो अवधिमा भोगेका तीता क्षणहरु, परदेशीको पर्खाईंमा बस्ने परिवार, घर फिर्तिपछिको मिलन, खुशी र रोदनको निर्धारण पनि यही बारुवाँले गर्दथ्यो । त्यो परिवेश आजसम्म पनि कायम छ । फरक यतिमात्र हो, अहिले चैत १२ गतेको दिन भेट्न जुम्लाका मान्ठहरु गाडीमा आउँछन्, उतिबेला महिनौ दिनको पैदल यात्रापछि चैत ११ गतेसम्म घर पुग्थे ।

डेढ दशक अघिसम्म साविक कर्णाली पैदल यात्राकै भरमा जुम्ला पुग्थ्यो । आज करिब घरसम्मै मोटर पुग्छ । तर उतिबेला चैतको १२ गते कसैको घरमा निकै खुशीयाली हुन्थ्यो भने कसैको घरमा रुवाबासी । कालापहाड गएको छ महिनापछि परदेशी घर नफर्कंदा एकै छिमेकका परिवारमा कसैले श्रीमान, कसैले छोरा त कसैले बाउ, दाई भाई, काका, भान्जा, देवर गुमाएको हुन्थ्यो ।

आफ्नो सदस्य गुमाएको परिवारको कारुणिक दृश्यले छिमेकीलाई पनि स्तब्ध बनाउँथ्यो । अघिल्लो दिन मखमली चोलो, धोती (गाबुन), पटुका, चुरापोते, चुलठीलगायतले सुन्दर पहिरनमा सजिएकी महिला क्षणभरमै फेरिएको सेतो पहिरनले विरुप बन्न विवश हुन्थिन् । परदेशीको अनागमनले आशातीत परिवारको एकाएक खुशी लुटिन्थ्यो । उनीहरुको आशा सँधैका लागि सकिएर जान्थ्यो ।

यद्यपि मौलिक एवं विशेषतायुक्त कर्णालीको ग्रामीण संस्कार दुःखमा परेका परिवारका लागि निकै सहयोगी बन्थ्यो । छिमेकीहरुले पीडित घर परिवारलाई वर्षौसम्म खेती किसानी, धारा पँधेरा, वस्त्र व्यवस्थापनलगायतका कुरामा साहयता गरिरहन्थे । बिडम्बना, सेतो पहिरनकी महिलाप्रति हेर्ने सामाजिक दृष्टिकोण भने निकै फरक अर्थात् कमजोर थियो । उनले हेपिएर बस्नुपर्ने बाध्यता झेलिरहनु पथ्र्यो अपितु, अहिलेको समाज त्यो भन्दा धेरै माथि उठेको छ ।

तिला गाउँपालिका ४ जुम्ला निवासी बीरबहादुर सिंहले कालापहाडमा गएर आफ्नै सहपाठीहरुले अकालमा ज्यान गुमाएको तीतो अनुभव सुनाउनुभयो । “जुम्लाबाट खानाखर्च, लत्ताकपडा, भाँडाकुडासहित पैदल हिडेर नेपालगञ्ज पुग्न महिना दिन लाग्थ्यो,” सिंहले भन्नुभयो, “भारतमा ज्यालादारी काम गरेर छ महिनापछि बारुवाँ भेटाउनै पथ्र्यो तर साथी गुमाएर घर पुगेको दिन निकै पीडादायी हुन्थ्यो । शोकाकुल परिवारलाई कसरी सम्झाउने होला भन्ने कुराले पिरोलिनु पथ्र्यो ।”

बिगतमा हुलाकीको काम परेवाले गर्दथ्यो भन्ने किवदन्ती र बिहान काग कराउँदा के खबर लिएर आयो भनेर निधो गर्ने संस्कारलाई आज सूचना, सञ्चार र नवीनतम् प्रविधिको विकासले विस्थापित गरिदिएको छ । कुनैबेला सञ्चारको निकै प्रभावकारी र भरपर्दो माध्यम मानिने हुलाक सेवाको रुपान्तरण अपेक्षित हुन नसक्दा यो सेवा पनि आजको युगमा पानासोनिक रेडियोको अवस्था पुगेको आभास हुन्छ ।

शारीरिक स्पर्शबाहेक करिब सबै कामहरु आधुनिक प्रविधिले समाधान गरिरहेको छ । त्यतिमात्र होइन, यो सामाजिक तथा साँस्कृतिक मूल्य मान्यता बोकेको हाम्रो मौलिक संस्कृति, संस्कार तथा सभ्यता संरक्षणमा ठूलो चुनौति बन्दै गएको छ । प्रकृति र मौलिकतासँग जोडिएका कुरालाई संरक्षण र जगेर्ना गर्न राज्यले त्यही प्रकारको नीति तथा कार्यक्रम ल्याउनुपर्ने जुम्लाका युवानेतृ लक्ष्मीकन्या बुढाले बताउनुभयो ।

उहाँका अनुसार लोपोन्मुख अवस्थामा पुगेको काली र रातो मार्सी धान जस्ता रैथाने बालीहरु ‘ब्लास्ट रोग’ (धानमा लाग्ने मरुवा रोग)को संरक्षणमा समस्या हुँदै गएको छ । यसको संरक्षण, अनुसन्धान र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्नुपर्दछ । मानव जीवनसँग जोडिएको संस्कृति, परम्परा र पहिचानको जीवित दस्तावेजलाई जीवन्त राख्न तीनै तहका सरकार र समुदायबीच सहकार्य आवश्यक छ । परम्परागत ज्ञान, सीप र आधुनिक प्रविधिको संयोजनबाट यसको जगेर्ना गर्नुपर्दछ ।

यथार्थमा भन्नुपर्दा, मानवीय भावना, सामाजिक तथा साँस्कृतिक जनजीवन, परिवेश, संस्कार, मौसम, कृषि कर्म र मानव जीवन अस्तित्वसँग जोडिएको ‘बारुवाँ, सोरुवाँ र बिसुवाँ पर्व’ कर्णालीको समग्र मानव जीवनको द्योतक हो । यस पर्वले समयको गति अनुसार चल्न नसक्ने प्रवृतिको कुनैपनि व्यक्ति वा समाजले फलको आशा गर्नु निरर्थक हुन्छ भन्ने शिक्षा दिन्छ अर्थात ‘रोप्नेलाई मात्र कटनी गर्ने अधिकार छ’ भन्छ ।

 

प्रतिकृया दिनुहोस्