
१७ चैत २०८२, मंगलबार
सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणसँग जोडिएका चारै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
न्यायाधीश दीपक ढकालको एकल इजलासले आज आरोपित चारै जनालाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन आदेश गरेको हो । आरोपित चारै जना नाबालक छन् । अदालतका सूचना अधिकारी उज्ज्वल रावलका अनुसार विकको बलात्कारपछि हत्या भएको आरोपमा चारै जनाविरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोग पत्र दायर भएको थियो ।
सूचना अधिकारी रावलले भन्नुभयो, “घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढाउने आदेश भएको छ । त्यसैले चारै अभियुक्तलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन आदेश भएको हो ।” हाल उनीहरुलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाइए तापनि मुद्दाको अन्तिम फैसला के हुने त्यो आउन नै बाँकी छ ।
गुर्भाकोट नगरपालिका ६ सुर्खेत बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका १ सुर्खेतमा बस्दै आएकी १६ वर्षीय इनिशा उषा बालबाटिका स्कुल सुर्खेतमा ११ कक्षामा अध्ययनरत छात्रा हुन् । परिवारका अनुसार उनी फागुन २३ गते शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् ।
तर बिहान ९ः०० बजेतिर स्थानीयले जनजागरण सामुदायिक वनमा एक बालिका अचेत अवस्था रहेको खबर दिएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । प्रहरीले उनलाई कर्णाली प्रदेश अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
सोही दिन घटनास्थलबाट इनिशाका प्रेमी भनिएका १६ वर्षीय एक किशोरलाई प्रहरीले नियन्त्रणमा लिएर बयान सुरु गरेको थियो । उनले सहमतिमै यौन सम्बन्ध राखेको र उनी एक्कासी बेहोस भएको बयान दिएका थिए ।
उनको बयानपछि थप तीन जना किशोरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । प्रहरीका अनुसार अस्पताल लैजान सहयोगका लागि आफ्ना साथीहरुलाई बोलाएको बयानमा ती किशोरले बताएका थिए ।
मृत्यु प्रकरणमा न्यायिक कारवाही प्रक्रिया निरन्तर भइरहँदा पीडित परिवारले भने न्यायका लागि आन्दोलन रोकेका छैनन् । उक्त घटनामा संलग्नहरुलाई कानूनी कारवाही नभएसम्म शव नउठाउने अडान उनीहरुले लिएका छन् । करिब चार सातादेखि इनिशाको कर्णाली प्रदेश अस्पताल सुर्खेतको शव गृहमा राखिएको छ ।




